• Thursday 8th of October 2026

सुमित्रा र आरती पहिलो पटक राष्ट्रिय टोलीमा


  • धनकुटा खबर
  • .

नेपाल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा स्थान बनाउन सफल भएका छन् ।

नेपालमा यसै महिना आयोजना हुने काभा महिला नेसन्स लिगको लागि छनोट भएको टोलीमा सुमित्रा र आरतीले पहिलो पटक स्थान बनाउन सफल भएका हुन् । सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट आधारभूत भलिबल प्रशिक्षण लिएर करिअर सुरु गरेकी थिइन् । छोटो अवधिमै घरेलु भलिबलमा प्रभाव छोड्न सफल उनी यसपटक टोलीमा सुरुवात गर्ने दावेदारी प्रस्तुत गरेकी छिन् ।

यता आरतीका लागि भने ५ वर्षपछि राष्ट्रिय टोलीको ढोका खुलेको हो । सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदकै समयमा बन्द प्रशिक्षणमा परेकी उनी अन्तिम टोलीमा समावेश भएकी थिइनन् । त्यसयता केही समय मोफसलकै क्लबमा बिताएकी उनले ३ वर्ष एपिएफबाट खेलिन् । गत वर्ष आर्मीमा भर्ती भएकी उनले त्यहाँ पुगेयता भने खेलमा सुधार गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेकी हुन् ।

नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी नियमित छन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्टसँगै युवा सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् ।

टोलीको प्रशिक्षण जगदीश भट्टले सम्हालिरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् । टोलीको व्यवस्थापकमा पूर्व खेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् ।

संघले आठौं प्रधानमन्त्री कप एनभिए लिगको प्रदर्शनको आधारमा प्रारम्भिक छनोट गरेर विभिन्न चरणपछि अन्तिम टोली छनोट गरेको हो । नेपालमै गत वर्ष भएको काभा नेसन्स च्यालेन्ज कपको टोलीबाट रिमा कुँवर र पुजा चौधरी भने यसपटक टोलीमा अटाएनन् । स्टार स्पाइकर प्रतिभा माली अझै चोटबाट ठिक नभएका कारण छनोटमा सहभागी भइनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖