• Thursday 8th of October 2026

हार्दिकलाई पछि पार्दै सूर्यकुमार यादव बने भारतीय टोलीको कप्तान


  • धनकुटा खबर
  • .

नयां दिल्ली । यसै महिना हुने श्रीलङ्का भ्रमणका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह र प्रमुख प्रशिक्षक गौतम गम्भीरबिच लामो समय चलेको विवादपछि अन्ततः टोलीको कप्तानको जिम्मेवारी सूर्यकुमार यादवले पाएका छन् ।

बीसीसीआईले श्रीलङ्का भ्रमणका लागि टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका लागि छुट्टाछुट्टै टोलीको घोषणा गरेको हो । एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी भने रोहित शर्माले नै पाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियबाट भने सन्न्यास लिइसकेका छन् ।

रोहित शर्मासँग अर्का प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले पनि एकदिवसीय टोलीमा स्थान पाएका छन् । कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियबाट भने सन्न्यास लिइसकेका छन् । टी–२० र एकदिवसीय दुबै टोलीमा शुभमन गिलले उप–कप्तानको जिम्मेवारी पाएका छन् ।

रियान पराग, शिवम दुबे र रिंकु सिंहले पनि श्रीलङ्का भ्रमणका लागि टोलीमा स्थान पाएका छन् । केएल राहुल र ऋषभ पन्त पनि एकदिवसीय टोलीमा फर्किएका छन् । हर्षित राणाले पनि श्रीलङ्का भ्रमणका लागि घोषित टोलीमा ठाउँ पाएका छन् ।

यसअघि टी–२० टोलीको कप्तान बनाउने विषयलाई लिएर बीसीसीआई सचिव जय शाह र प्रमुख प्रशिक्षक गौतम गम्भीरबिच विवाद देखिएको थियो । जय शाह हार्दिक पाण्ड्यालाई कप्तान बनाउन चाहन्थे । भारतले नवौँ टी–२० विश्वकपको उपाधि जित्दा पाण्ड्या नै टोलीको उप–कप्तान थिए ।

तर, प्रमुख प्रशिक्षक गम्भीरले भने सूर्यकुमार यादवलाई टी–२० टोलीको कप्तान बनाउन चाहन्थे । अन्ततः प्रमुख प्रशिक्षक गम्भीरकै निर्णय लागू भएको छ । श्रीलङ्का भ्रमणका क्रममा भारतले आयोजक राष्ट्रसँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय खेलको शृङ्खला खेल्नेछ ।

टी–२० का लागि घोषित टोलीमा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उप–कप्तान), यशस्वी जयसवाल, रिंकु सिंह, रियान पराग, ऋषभ पन्त (विकेटकिपर), संजु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिंगटन सुन्दर, रवि बिस्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहम्मद सिराज रहेका छन् ।

यसैगरी एकदिवसीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल (उप–कप्तान), विराट कोहली, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐयर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वासिंगटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खलिल अहमद र हर्षित राणा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖