• Wednesday 28th of October 2026

प्रधानमन्त्री ओलीलाई कुन–कुन दलले दिँदैछन् विश्वासको मत?


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्।

संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ।

उक्त दिनको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन्।

नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।

नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन्।

नयाँँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ, भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि विश्वासको मत नदिने बताएको छ।

एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्विप जारी गरिसकेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। जनमत पार्टीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसले भने यही विषयमा निर्णय लिन आइतरबा संसदीय दलको बैठक बोलाएको छ। उसकै सहभागीतामा सरकार बनिसकेको हुँदा कांग्रेसले विश्वासको मत दिने निश्चित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖