काठमाडौं । इङ्ल्यान्ड र पाकिस्तानबीचको मुल्तान क्रिकेट स्टेडियममा भएको पहिलो टेस्टमा इंग्ल्याण्डले आयोजक पाकिस्तानलाई एक इनिङ्स र ४७ रनले पराजित गरेको छ ।
टेस्ट क्रिकेटको इतिहासमा पहिलो इनिङ्समा ५ सयभन्दा बढी रन बनाएर पनि उक्त टोलीले इनिङ्सले हार व्यहोरेको यो पहिलो पटक हो ।
इंग्ल्याण्डको टोली तीन टेष्टको शृंखला खेल्न पाकिस्तानको भ्रमणमा छ । यस सिरिजअन्तर्गतको पहिलो टेस्ट जित्दै पाहुना टोलीले अब १–० को अग्रता लिएको छ ।
पाकिस्तानी टोलीले यो टेस्ट म्याच हारे पनि एक समय निकै बलियो स्थितिमा थियो । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
आफ्नो पहिलो इनिङ्समा ओपनर अब्दुल्लाह शफिक, कप्तान शान मसुद र तल्लो क्रमका आगा सलमानको उत्कृष्ट शतकका कारण पाकिस्तानले ५५६ रनको ठूलो स्कोर बनाएको थियो ।
मध्यक्रममा साउद शकीलले पनि ८२ रनको राम्रो इनिङ खेले ।
तर, बाबर आजमले राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन् । बाबरले ३० रनको इनिङ खेले । मोहम्मद रिजवान पनि खाता नखोलेर आउट भए ।
इंग्ल्याण्डका ब्याट्सम्यानले पनि आफ्नो पहिलो इनिङ्समा धेरै रन बनाए । इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले ट्रिपल सेन्चुरी र जो रुटले दोहोरो शतक प्रहार गरे ।
ह्यारी ब्रुकको ३१७ रनको इनिङ्स र जो रुटको २६२ रनको मद्दतले इंग्ल्याण्डले सात विकेट गुमाएर ८२३ रनको ठूलो स्कोर बनायो ।
तर, दोस्रो इनिङ्समा पाकिस्तानी ब्याट्सम्यान पूर्णतया असफल भए । तल्लो क्रममा आगा सलमान (६३ रन) र आमिर जमाल (५५ रन)ले केही समय संघर्ष गरे पनि हारबाट बच्न सकेनन् ।
तेस्रो इनिङ्समा पाकिस्तानी टोलीले २२० रन मात्र बनाउन सके र इंग्ल्याण्डले यो पहिलो टेस्ट एक इनिङ्स र ४७ रनले जित्यो ।
यस सिरिजको दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा हुनेछ । तेस्रो टेष्ट खेल २४ अक्टोबरदेखि रावलपिण्डीमा हुनेछ ।
