• Sunday 29th of November 2026

मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौ । कास्कीको माछापुच्छ्रे गाउपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाईक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुसल उद्दार गरिएको छ ।

यही असोज २२ गते राति हाईक्याम्पको होटल नमस्तेमा बास बसेर भोलीपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन् ।

पर्यटक हराएको सूचनापछि खोजीमा जुटेको स्थानीयवासी, पर्यटक प्रहरी, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा भैँसी गोठाला मालिकहरु सहितको टोलीले आज दिउसो पर्यटकलाई मर्दीको मुहान कोलङ्गे भन्ने स्थानबाट सकुशल उद्धार गरेको माछापुच्छ«े –९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार र बिहीबार भैँसी गोठका मालिक प्रसाद पौडेल र होटल सञ्चालक सहितको टोलीले साँझसम्म खोजी गरेपनि काँडाघारी, सिस्नो अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पर्यटकको अवस्था पत्ता लगाउन सकेको थियो । पर्यटकको खोजीका लागि पर्यटक प्रहरी सहितको टोलीले आज विहानदेखी पुनः खोजी कार्य सुरु गरेको थियो ।

“मर्दीको मुहान भन्दा केही तल ठाउँ ठाउँमा लडेको,जुत्ता लगाएको निशान देखेपछि सो निशान पछ्याउँदै ठूलो स्वरमा चिच्यायौ र उताबाट पनि कराउँदै रोएको आवाज सुनेपछि धेरै तल खोलाको किनार नजिक पर्यटकलाई फेला पार्न सफल भयौँ ।” वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।
खोजी कार्यमा खटिएको प्रहरी टोलीले पर्यटकलाई सिधिङसम्म ल्याएर पर्यटक प्रहरीको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖