• Wednesday 7th of October 2026

एनपीएलको नामसारी गर्न क्यानलाई अख्तरको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिर १६ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आयोजना गर्ने गरी तयारी तीव्र पारिरहेको छ । तर कुनै बेला नेपाल प्रिमियर लिगकै नाममा क्रिकेट प्रतियोगिता सञ्चालन गराएका आमिर अख्तरले यो नाम आफ्नो स्वामित्वमा रहेको र एनपीएलको विषयमा क्यानलाई ध्यानाकर्षण गराउँदै नामसारीका लागि आग्रह गरेको छ।

पूर्व क्रिकेटर समेथ रहेका अख्तरको जोहरा ईन्टरनेसनल र क्यान मिलेर सन् २०१४ मा नेपाल प्रिमियर लिग आयोजना गरेको थियो । अख्तरले मंगलबार क्यानलाई पत्र लेख्दै एनपीएलबारे ध्यानाकर्षण गराउँदै यो नाम नामसारीका लागि आग्रह गरेका छन्।

‘म आमिर अख्तर नेपालको पूर्वक्रिकेटर तथा एनपीएल र ईपीएलको सञ्चालक समेत हुँ । क्यानकै सहमतिमा मैले विगतमा एनपीएलको पहिलो संस्करण सञ्चालन गरेको ध्यानाकर्षण गराउन चाहन्छु। नेपाल प्रिमियर लिग प्रालिको एकल शेयर धनीका रुपमा कम्पनी रजिष्ट्रारको कार्यलयमा कम्पनी पनि दर्ता गराएको छु,’ उनले मंगलबार क्यानलाई सम्बोधन गरी लेखेको पत्रमा भनेका छन्।

उनले आफ्नो स्वामित्वमा दर्ता रहेको नामबाट अरु कसैले प्रतियोगिता आयोजना गर्नु कानुन विपरितको काम भएको दाबी गरेका छन् । उनले क्यानलाई आफूसँग सहमति गरेरमात्र नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता सञ्चालन गर्न आग्रह पनि गरेका छन् ।

यस्तै उनले क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता आयोजना गरे आफू कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि दिएका छन् । उनले क्यानसँग सहमति भएमा आफू नेपाल प्रिमियर लिगको स्वामित्व क्यानलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताएका छन् ।

उनले क्यानलाई पठाएको पत्रको बोद्यार्थ राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, कम्पनी राजिष्ट्रारको कार्यालय र एनपीएलमा सहभागी आठवटै क्लबलाई पनि दिएका छन् ।

क्यान आफैँले नेपाल प्रिमियर लिग (एनपीएल) आफैँ आयोजना गर्नेगरी तयारी तिव्र पारिरहेको छ । ८ फ्रेन्चाईज टोली सहभागि हुने एनपीएलका लागि क्यानले खेलाडीको अक्सन समेत गराईसकेको छ । यस्तै फ्रेन्चाईजहरुले पनि लिगको तयारी तिव्र पारिरहेको छ ।

यस्तो समयमा आमिर अख्तरले क्यानलाई लेखेको पत्रले नयाँ तरंग पैदा गरेको छ ।क्यान आईसीसीको निलम्बनमा हुँदा अख्तरले एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजना गरेका थिए ।

तर क्यान निलम्बन फुकूवा भएपछि क्यानले इपीएल क्षेत्रिय लिगको रुपमा मात्र आयोजना गर्न दिने निर्णय गर्दै फ्रेन्चाईज लिग क्यानले नै गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖