• Sunday 4th of October 2026

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी


  • धनकुटा खबर
  • .

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ ।

तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।

‘हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै संगठित देखियो’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘हालसम्म सीआईबीले हेरेका संगठित अपराधका केशहरुमध्ये यसमा सबैभन्दा धेरै अत्याधुनिक प्रविधि प्रयोग भएको देखिएको छ ।’

सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २४ जना व्यक्तिलाई पक्राउ गरेको छ । तीमध्ये ६ जना विदेशी नागरिक छन् । यसमा हालसम्म चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ भने नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङले सुनको व्यवस्थापन गर्ने गरेको हुनसक्ने आधारहरु देखिएको सीआईबीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक प्याड (ब्रेक सु) बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर यो प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖