काठमाडौं, मंसिर १३। प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ मागेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिका भाइलाई भेट्न जाँदा उनीहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै दाजुलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ मागेका थिए।
त्यसैगरी होटल खर्चसमेत तिर्न लगाएको र रकम दिन अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचनापछि खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।
उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
