• Sunday 4th of October 2026

नेविसंघ अध्यक्षले धम्की दिएपछि परिवन्दमा अनसन तोडेँ : सुलभ चापागाईं


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा आमरण अनसनमा बसेका नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईंले धम्कीका कारणले अनसन तोड्न वाध्य भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तहको शुल्कवृद्धि गरेपछि फिर्ताको माग गर्दै चापागाईं ५ भदौदेखि आमरण अनसनमा थिए ।

बुधबार उपकुलपति, शिक्षाध्यक्षसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनका प्रमुखहरुबीच शुल्कवृद्धि फिर्ताका विषयमा सहमति भएको थियो । तर इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता गराउने निर्णयमा उक्त संस्थानलाई नै सहभागी नगराएको भन्दै चापागाईंले सहमतिप्रति असन्तुष्टि जनाएका थिए ।

त्रिविका उपकुलपतिले निर्देशन दिँदैमा इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले शुल्क फिर्ता गर्ने विषय शंकास्पद रहेको भन्दै चापागाईंले आफूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई यसबारे जानकारी गराएको बताए । तर दुजाङले आफू र आफूलाई सहयोग गरिरहेकाहरुलाई धम्की दिएर परिवन्दमा पारेर अनसन तोडाएको चापागाईंले बताएका छन् ।

‘९ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईलाई धम्कीपूर्ण गालीगलौजसहित भौतिक दुर्व्यवहार गरी अनशन तोड्ने परिबन्दमा पारियो । म स्वयंले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर वीर हस्पिटलको क्याबिन नं. ३०९ बाट निस्केको थिएँ’ उनले लेखेका छन्, ‘तसर्थ, हामी सबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपाली काँग्रेस पार्टी, प्रहरी प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सुलभ चापागाईंले फेसबुकमा के लेखे हेर्नुहोस् ?

मिति २०८०/०५/०४ ईन्जिनियरिङ अध्ययन संस्थान (ईअस) ले निकालेको शुल्क वृद्दिको फिर्ताको माग गर्दै म (सुलभ चापागाईं) २०८०/०५/०५ गते देखि २०८०/०५/१३ गते (९ औँ) दिनसम्म आमरण अनशन बसेको यहाँहरुलाई अवगत नै छ । इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने हेतुले हामीले गरेको सत्याग्रहको हिजो ९ औँ दिनमा त्रिविका पदाधिकारी र विभिन्न विधार्थी सङ्गठनका पदाधिकारीहरुबीच ५ बुँदे निर्णय भयो ।

ईअसका कुनै पनि प्रतिनिधिको हस्ताक्षर नरहेको र सो निर्णयहरुको कार्यावन्यनमा जटिलता हुनसक्ने भन्दै (हिजै दिउँसो Dean सहित IOE का पदाधिकारीहरुसँग प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेको र VC ले निर्देशन गर्दैमा Dean कार्यालयले शुल्क बृद्धि फिर्ता गर्नेमा शंकास्पद थिए र सोही कुरा मैंले अध्यक्षज्यू लाई बारम्बार अवगत गराउँदै गर्दा नेविसंघका केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पालाई राख्दै गर्दा डिन लगायत ईअसको कुनै पदाधिकारीको हस्ताक्षर हुदैन भन्दै वीर हस्पिटलको क्याबिन नं ३०९ मा धम्कीपूर्ण दबाब दिँदै मलाई अनवरत सहयोग गरिरहनुभएका दाइहरू बबिन बस्नेत र रमेश केसीलाई कुटपिट र म स्वयंलाई ९ औँ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईलाई धम्कीपूर्ण गालीगलौजसहित भौतिक दुर्व्यवहार गरी अनशन तोड्ने परिबन्दमा पारियो । म स्वयंले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर वीर हस्पिटलको क्याबिन नं. ३०९ बाट निस्केको थिएँ । तसर्थ, हामी सबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपाली काँग्रेस पार्टी, प्रहरी प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖