• Sunday 4th of October 2026

अध्यक्ष ओली – मानव बेचबिखनविरुद्ध एकजुट होऔँ


  • धनकुटा खबर
  • .

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन्। आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उनले दिएको सन्देशमा मानव सभ्यताको कलंकका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखनको नियन्त्रण तथा त्यस अपराधका पीडित प्रभावितको उद्धार, पुनःस्थापना स्वदेश फिर्ती, सामाजिक पुनःमिलन र न्यायमाथि उनीहरूको पहुँच सुनिश्चित गर्न कानुनी प्रबन्ध मात्रले पुग्दैन’, अध्यक्ष ओलीद्वारा जारी सन्देशमा भनिएको छ, ‘त्यसका लागि सचेत सामाजिक अभियान र दबाबको आवश्यकता पर्दछ । मानव बेचबिखनका घटनाको नियन्त्रणका लागि आवश्यक कानुनको संशोधन, परिमार्जन गर्न र मानव बेचबिखन नियन्त्रणका लागि भरपर्दो संरचनागत आधार निर्माण गर्न सरकार अग्रसर रहनु पर्दछ ।’

अन्तरदेशीय संगठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको उल्लेख गर्दै उनले नेपालमा पनि अमानवीय समस्याबाट प्रभावित भएको र अपराधजन्य यस कार्यका संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

मानव बेचबिखन कार्यका संलग्नलाई कानुनको दायरामा ल्याएर दण्डित गर्ने र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनःमिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन नसकेको उनले बताए।

विगतमा खुला सिमानाका कारण छिमेकी देश भारतमा यौन शोषणका लागि मानव बेचबिखन हुने गरेकामा केही वर्षयता नेपालको आन्तरिक बजार (मनोरञ्जन क्षेत्र) र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनका क्रममा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖