काठमाडाैं । लामाे समयदेखि ‘हेर्न नभ्याइने’ पर्दै आएकाे क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारका लागि पेसी ताेकिएकाे छ । काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश सुस्मिता कार्कीको इजलासमा पेशी तोकिएको हाे ।
विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो। जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।
सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। कार्कीको इजलासमा तेस्रो नम्बरमा सन्दीपको मुद्दाको पेशी रहेको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णयसमेत गरेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
