कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
पदको दुरुपयोग गरेको, मदिरा पान गर्दै कार्यालयमा उपस्थित भएको, कालोबजारी गर्ने, ठेक्कापट्टामा कमिसन लिने गरेको, कार्यालयमा भन्दा बढी मोजमस्तीमा समय बिताएको, घोडाघोडी नगरपालिकाको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरेको भन्दै माओवादीकाे भ्रातृ संस्थाहरु योङ कम्युनिष्ट लिग (वाईसीएल) र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।
अखिल क्रान्तिकारी नगर अध्यक्ष प्रेम सहकारी बोगटी र वाईसीएल नगर संयोजक धिरज भन्डाराले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिएका हुन् ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा अनिश्चित समयको लागि तालाबन्दी गरेको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत आचार्यले मासिक ६० हजारको दरमा निजी सवारीसाधन भाडामा लिएर मोजमस्ती र व्यक्तिगत काममा प्रयोग गर्दै आएकोसमेत आरोप लगाइएको छ ।
