• Monday 5th of October 2026

राहत शिक्षक अब स्वतः स्थायी हुने


  • धनकुटा खबर
  • .

काठमाडौ । सामुदायिक विद्यालयमा राहत शिक्षक अनुदान कोटामा कार्यरत शिक्षक (राहत शिक्षक) अब स्वतः स्थायी हुने भएका छन् ।

सरकारले आज संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८०) मा राहत शिक्षकलाई स्वतः शिक्षक दरबन्दीमा परिणत गर्ने प्रावधान समेटिएको छ ।

विधेयकको मस्यौदाको परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धि व्यवस्थामा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने विषय समेटिएको छ।

‘यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा पपरणत हुनेछन्,’ स्यौदामा भनिएको छ, ‘उक्त दरबन्दीलाई शिक्षक सेवा आयोगको सिफारिसमा स्थानीय तहले पदपूर्ति गर्नेछ।’

विधेयकका अनुसार दरबन्दी मिलान भएका शिक्षकलाई स्थानीय तहले आफ्नो क्षेत्र भित्रका विद्यालयको आवश्यकताका आधारमा पुर्नवितरण गरी पठनपाठनलाई व्यवस्थित गर्न सक्ने छन् ।

यस्ता शिक्षकको सेवा अवधि गणना गर्दा दरबन्दी मिलान तथा हस्तान्तरण हुनु अघि स्थायी शिक्षक भए शत प्रतिशत र अस्थायी वा करारमा स्वीकृत दरबन्दीमा रही स्थायी भएकोमा वा राहत अनुदान कोटाको शिक्षक स्थायी भएकोमा त्यस्तो अस्थायी करार वा राहत अनुदान कोटामा अविछिन्न सेवा गरेको अवधिको ५० प्रतिशत सेवा अवधि स्थायी सेवामा जोडिने मस्यौदामा उल्लेख छ ।

त्यस्ता शिक्षकको सेवा अवधि बढुवा तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका प्रयोजनमा गणना हुने छ । तर स्थायी वा करारमा स्विकृत दरबन्दीमा वा राहत अनुदान कोटामा कार्यरत शिक्षकको हकमा कम्तीमा एक वर्ष अविछिन्न अध्यापन नगरेको भएमा त्यस्तो सेवा अवधि भने गणना हुने छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖