• Sunday 4th of October 2026

आईफोन-१५ मा भिडभाडमा साथी भेट्न सहज बनाउने सुविधा


  • धनकुटा खबर
  • .

एजेन्सी — नेपाली समयअनुसार मंगलबार राति सार्वजनिक भएको आईफोन १५ को एउटा खास विशेषता भनेको ‘प्रिसिजन फाइन्डिङ’ सुविधा हो । यो इनेबल गरेपछि प्रयोगकर्ताको मोबाइल स्क्रिनमा नजिकै रहेका आफ्ना साथीभाइसम्म पुग्ने नक्सा देखापर्छ । बसपार्क, बजारजस्ता भीडभाड हुने स्थानमा फोन गर्दा नसुनिने समस्या हटाउन एप्पलले यो सुविधा थपेको जनाएको छ ।

नजिकैका अन्य डिभाइससँग कनेक्ट गर्न आईफोन १५ मा अल्ट्रा-वाइडब्यान्ड चिप जडान गरिएको छ । ‘प्रिसिजन फाइन्डिङ’ अन गरेपछि दिशा र दूरीसहित त्यहाँसम्म पुग्ने बाटो देखापर्छ । सेप्टेम्बर २२ बाट बजारमा उपलब्ध हुने आईफोन १५ सुधारिएको चिप, यूएसबी-सी पोर्ट, पहिलेभन्दा राम्रो ब्याट्री, अझै राम्रो क्यामरा र टाइटानियम चेसिसको साथ तयार भएको कम्पनीले जनाएको छ ।

इमर्जेन्सी एसओएससँगै आईफोन १५ मा ‘रोड साइड एसिस्टेन्ट’ थप गरिएको छ । मोबाइल नेटवर्क नभएको स्थानमा सवारीभित्रै अड्किएमा, टायर पंक्चर भएमा, इन्धन वा गाडीको चार्ज सकिएर अलपत्र परेमा यो सुविधा प्रयोग गरेर सन्देश पठाउन सकिन्छ । यसमा प्रयोगकर्ताले पठाएको म्यासेज र तिनको ठेगाना स्याटलाइटमार्फत नजिकैको उद्दारकर्तासम्म पुग्छ । यही सुविधाका लागि एप्पलले स्याटलाइटमार्फत मोबाइलको भ्वाइस र डाटा सेवा उपलब्ध गराउने ग्लोबलस्टारसँग साझेदारी गरेको छ ।

गेमिङका लागि भनेर एप्पलले सार्वजनिक गरेको आईफोन १५ प्रोमा ए-१७ प्रो चिप राखिएको छ भने यसको स्पिड प्रतिसेकेन्ड १० गिगाबाइट रहेको छ । थप सशक्त प्रोसेसरसहितको यो फोनमा ‘म्युट’ बटन हटाएर नयाँ ‘एक्सन’ बटन राखिएको छ । यसको क्यामरामा राखिएका लेन्स सातवटा लेन्स र ४८ मेगापिक्सेल बराबर रहेको कम्पनीको दाबी छ । आईफोन १५ प्रो म्याक्समा त झन् १२० एमएम बराबरको लेन्स, २५ प्रतिशत ठूलो सेन्सर, फाइभ एक्स टेलिफोटो लेन्स रहेको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖