सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा गुडिरहेको बोलेरो जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घ्याङलेख गाउँपालिका–४ बन्दीपुर निवासी ५८ वर्षीय मानध्वज योञ्जन रहेका छन् ।
प्रहरीका अनुसार मंसिर ७ गते बिहान ९:३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार योञ्जनले ढोकाको लक समातेर बसेका थिए । सोही क्रममा अचानक लक खुलेपछि उनी जिपबाट खसेर घाइते भएका थिए ।
घाइते योञ्जनलाई सोही जिपमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । अस्पतालमा उपचारका क्रममा बिहान ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामे निवासी २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
