• Monday 23rd of November 2026

पूर्वआईजीपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरी प्रमुखबाट हटाइएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै महानिरीक्षक पदमा पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज मंसिर ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

आज हुने दुई पक्षीय सुनुवाइपछि नवनियुक्त आईजीपी मनोज केसीको नियुक्ति तथा कामकाज रोक्ने गरी अन्तरिम आदेश जारी हुने वा नहुने विषय टुंगो लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖