• Monday 5th of October 2026

तीनकुने हत्याकाण्ड: थप एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको तीनकुनेमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्।

प्रहरले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो। स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो।

शुक्रबार राति ११:५५ बजे काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य स: मिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।
उक्त सूचना प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा सुरूमा हतियार फेला परेको थिएन।
शनिबार भने हतियार फेला परेको प्रहरी स्रोतले जानकारी दियो। घटनामा प्रयोग भएको धारिलो हतियार दाउ प्रहरीले बरामद गरेको छ।

दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी ५० वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई उक्त मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नविन राईको हत्या भएको हो।

उनीहरूको टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।

‘शरीरमा धेरै ठाउँमा चोटपटक लाग्ने गरी हिर्काएको छ। राति केही समय घम्साघम्सी भएर हत्या भएको प्रारम्भिक रूपमा देखिन्छ,’ उनले भने।
यो घटना एक जना व्यक्तिले मात्रै पनि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ।

‘घटनामा श्रीमान-श्रीमती, वृद्धा र युवकको मृत्यु भएको छ। एकपछि अर्कोमाथि हतियार प्रहार भएको पनि हुनसक्छ। वृद्धाले प्रतिकार गर्न सक्ने सम्भावना न्यून छ। श्रीमानमाथि हानेर लडाएपछि श्रीमती वा युवकलाई एकपछि अर्कोलाई हानेको हुनसक्छ,’ स्रोतले भन्यो।

प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको थियो। त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ।
उक्त मिल दोलखा कालिञञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो। उनी दोलखाका एमाले नेता समेत हुन्।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई शनिबार नै नियन्त्रणमा लिएको थियो।

तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो। उनीबाहेक अन्य केही व्यक्तिहरूमाथि प्रहरीले सोधपुछ समेत गरेको छ।

पोष्टमर्टमको लागि चारै वटा शव महाराजगन्ज टिचिङमा राखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖