• Monday 5th of October 2026

आजदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस’ चल्ने


  • धनकुटा खबर
  • .

काठमाण्डौं, असोज ३ । काठमाण्डौमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन् । द्रुत बसको शुभारम्भ रत्नपार्कबाट गर्ने तयारी छ ।

द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ । सडकमा रातो रङले डेडिकेटेड लेन नै छुट्याइएको छ । द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताएका छन्। तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइने छ।

अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ । आज दुई वटा बस सञ्चालन हुनेछ र भोलिदेखि बस थप गरी नियमित सञ्चालन हुने प्रवक्ता पनेरूले जानकारी दिए। ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो ।

रत्नपार्क–सूर्यविनायक सडकमा नमुनाकारूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ । द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ । विभागका अनुसार रातो बत्ती बलेका बेलामा पनि द्रुत बस रोकिने छैनन् । ,सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिने द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ ठाउँमा स्टप तोकिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖