• Tuesday 6th of October 2026

ग्रिनक्रस अस्पताल विराटनगरका सञ्चालक कृष्ण खवास पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर । अस्पतालमा आएकी गर्भवती महिलाको भर्ना नै नगरी प्रसुती गराएर शिशु बिक्री गरेको घटना घटाइएको पाइएपछि विराटनगर ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् । ग्रिनक्रस अस्पतालमा एक महिलाले जन्म दिएकी नवजात शिशु बिक्री भएको घटनामा व्यवस्थापकीय लापर्वाही देखिएपछि मोरङ प्रहरीले खवासलाई पक्राउ गरेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार नवजात शिशु जन्म गराउनु पूर्व अस्पतालमा आमाको भर्ना नभएको, बुझाउनु पर्ने शुल्कको रसिद नभएको, कुनैपनि तथ्यांक रहने गरिको कार्य नगरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले सञ्चालकहरु नै शिशु बिक्री धन्दाका सहयोगी भएको निष्कर्षका आधारमा खवासलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो घटनामा संलग्न खवाससहित सातजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णले आफ्नो क्लिनिकमा योजना बनाएर ग्रिनक्रस अस्पतालमा लगेर महिलालाई प्रसुती गराई जन्मिएको नवजात शिशु बिक्री गरेका थिए । भोजपुर हतुवागढी गाउँपालिकाकी अविवाहित महिलाले जन्माएको नवजात शिशुलाई गत असार १४ गते बिक्री गरेको खुलेको थियो । त्यस घटनामा संलग्नमा डाक्टर कर्णसहित प्रेमी भोजपुर हतुवागढीका गोबिन्द राई, मोरङ कटहरी गाउँपालिका–२ निवासी दिलमाया राजबंशी, सुधा राजबंशी, सुर्यनारायण राजबंशी, निर्मला यादव पक्राउ परिसकेका छन् ।

प्रहरीले पक्राउ परेका विरुद्ध संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, व्यक्ति वेपत्ता पारेको तीनवटा कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अभियोजन तयार गरेर जिल्ला अदालतमा अभियोग दर्ता हुनेछ ।-आवरविराटनगर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖