जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने पालो पर्खेर नबसेको स्पष्ट पारेका छन् ।
मेची-महाकाली राष्ट्रिय समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका उनले आज पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्री बन्ने मौका कहिले आउँछ भनेर ढुकेर बसेको छैन।’
उनले वर्तमान सरकारलाई नै सहयोग गर्ने र अगाडी बढाउनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले राम्रा काम गर्न खोज्नु भएको छ । तर गर्न सकिरहेका छैन् । उहाँलाई राम्रा कामका लागि सघाउर्नुपर्छ ।’
अध्यक्ष नेपालले अभियानका क्रममा मधेशमा अपार समर्थन देखेर हृदय गद्गद् भएको बताए । उनले मधेशमा व्यापक उत्साह देखेर आफू पनि उत्साहित बनेको बताए ।
गरिब र बेसहराका लागि अझै समाजवाद नआएको महसुस भएर त्यसका लागि अगाडि बढेको उनले बताए । बेरोजगारी समस्या समाधान गर्न सबभन्दा बढी जरुरी भएको उनको भनाई थियो ।
तीन दिन अगाडि काकडभिट्टाबाट नेकपा एसले अभियान सुरु गरेको थियो । अभियानमा सहभागी नेताहरु हिजो जनकपुरधाम पुगेर विश्राम गरे छन् ।
