• Sunday 4th of October 2026

सूर्यका लागि उडेको भारतीय अन्तरिक्ष यान पुग्यो ९ लाख २० हजार किलोमिटर माथि


  • धनकुटा खबर
  • .

काठमाडौं । सूर्यको अध्ययनका लागि भारतले प्रक्षेपण गरेको आदित्य एल वन नामक अन्तरिक्ष यान पृथ्वीबाट नौ लाख २० हजार किलोमिटरमाथि पुगेको छ । शनिवार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले आदित्य एल वन पृथ्वीको गुरुत्वाकर्षण बलको सबैभन्दा बढी प्रभाव पर्ने स्थानबाट बाहिर गएको जनाएको हो ।

“अन्तरिक्ष यानले अर्थस् इन्फ्ल्युन्स (पृथ्वीको गुरुत्वाकर्षण प्रभाव सबैभन्दा बढी पर्ने क्षेत्र) बाट सफलतापूर्वक बाहिर निस्किएर पृथ्वीबाट नौ लाख २० हजार किलोमिटरको दूरी पार गरेको छ,” इसरोले एक्समा लेखेको छ, “यो अब सूर्य-पृथ्वी लगराञ्ज पोइन्ट (L1) तर्फ निस्किएको छ ।”

आदित्य एल वन सूर्यको अध्ययनका लागि पठाइएको भारतको पहिलो अन्तरिक्ष यान हो । एल वन विन्दु पृथ्वीबाट १५ लाख किलोमिटर टाढा छ । पृथ्वीबाट एल वन विन्दु जति दूरी छ, त्यो दूरी पृथ्वीबाट सूर्यसम्मको दूरीको एक प्रतिशत मात्र हो ।

चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरण भएसँगै इसरोले सेप्टेम्बर २ मा आदित्य एल वन प्रक्षेपण गरेको थियो । सूर्यको अध्ययनका लागि पठाइएको आदित्य एल वनमा सात ओटा पेलोड्स रहेका छन् ।

जसमध्ये पाँच ओटा इसरोले विकास गरेको हो भने बाँकी दुई ओटा इन्डियन एकेडेमिक इन्टिच्युसनको सहकार्यमा तयार पारिएका हुन् ।

जनवरी २०२४ मा यान एल वन विन्दुमा पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि यानबाट स्याटलाइट एल वन विन्दुको वरिपरि राखिनेछ ।

स्याटलाइटले बाँकी समय एल वन विन्दुको वरिपरि परिक्रमा गरेर बिताउनेछ । आदित्य एल वनको मिसन लाइफ (लक्षित आयू) पाँच वर्षको हुने बताइएको छ । त्यसबेलासम्म स्याटलाइटका पेलोड्सले पृथ्वीमा सटीक सूचना पठाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖