• Wednesday 7th of October 2026

हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।

‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी एकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौ।‘

हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।
शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।

मन्त्री साउदले संसदमा दिएको जानकारीअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।

हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ।

अहिले पनि लडाइँ जारी छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖