• Wednesday 7th of October 2026

राजस्व अनुसन्धानको टोलीलाई मिर्चैयावासीले लखेटे


  • धनकुटा खबर
  • .

वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिराहाको मिर्चैयामा स्थानीयले ढुङ्गामुढा गरेका छन् ।

अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दुःख दिएको भन्दै एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मङ्गलवार ढुङ्गामुढा भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिराहा-मिर्चैया खण्ड मङ्गलवार दिउँसो आवागमन अवरुद्ध गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

असोज ४ मा टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बही खाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मङ्गलवार गएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖