एजेन्सी । १३औँ एकदिवसीय विश्वकपमा सहभागी भएकी पाकिस्तानी टेलिभिजन प्रस्तोता जिनब अब्बासले सुटुक्क भारत छाडेकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने व्यक्तिगत कारणले अब्बास पाकिस्तान फर्किएको दाबी गरेको छ ।
खासमा पाकिस्तानी टेलिभिजन प्रस्तोता अब्बासलाई सुरक्षाको कारण देखाउँदै भारतबाट पाकिस्तान फर्काइएको समाचारमा जनाइएको छ । ३५ वर्षीया अब्बासमाथि भारतविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतको विषयमा अपमानजनक टिप्पणी गरेका भन्दै व्यापक विरोध भएपछि सुरक्षाको कारण देखाउँदै उनलाई पाकिस्तान फिर्ता गरिएको बताइएको छ । उनी व्यावसायिक क्रिकेट प्रस्तोता हुन् ।
अब्बास आईसीसीको डिजिटल टिमको सदस्यका रूपमा विश्वकपमा सहभागी हुन भारत पुगेकी थिइन् । उनी भारतबाट सोमबार सुटुक्क पाकिस्तान फर्किएकी थिइन् । आईसीसीका अधिकारी सी. राजशेखर रावले भने उनी व्यक्तिगत कारणले पाकिस्तान फर्किएको बताए ।
केही समयअघि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ६ साता लामो क्रिकेट विश्वकपमा सहभागी हुन पाउँदा निकै खुसी लागेको पोष्ट सार्वजनिक गरेकी थिइन् । सोही पोष्टमा उनले भारत र पाकिस्तानबिच धेरै हदसम्म सांस्कृतिक समानता रहेको पनि उल्लेख गरेकी थिइन् ।
तर, अब्बासले सामाजिक सञ्जालमा गरेको कुन पोष्ट भारतका लागि अपमानजनक हो भन्ने विषयमा केही खुलाइएको छ । सामाजिक सञ्जालमा उनले गरेको पोष्टको विषयलाई लिएर दिल्लीका एक कानुन व्यवसायीले उजुरी दर्ता गरेको समाचार पनि बाहिरिएको छ ।
सर्वोच्च न्यायालयका कानुन व्यवसायी विनित जिन्दलले अक्टोबर ६ तारिखमा अब्बासविरुद्ध उजुरी दर्ता गरेको दाबी समाचारमा गरिएको छ । समाचारका अनुसार, कानुन व्यवसायी जिन्दलले अब्बासमाथि हिन्दुहरूको आस्थामाथि चोट पुर्याएको आरोप पनि लगाएका छन् ।
