• Wednesday 7th of October 2026

इजरायलबाट अझै २०० नेपाली उद्धारको पर्खाइमा


  • धनकुटा खबर
  • .

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।

नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । “राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसनमा विवरण प्राप्त हुने क्रम जारी छ । जहाँ आज फर्काइएकाबाहेक नेपाल फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण रहेको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकहरूलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको छ,” इजरायलको तले अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायलबीच शनिबारदेखि युद्ध चर्किदा इजरायलमा रहेका नेपालीहरु असुरक्षित महशुस गरी नेपाल फर्कन चाहेका छन् ।

हमासले शनिबार इजरायलमा अचानक आक्रमण गर्दा १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् ।

युद्ध चर्कदै गएपछि इजरायलमा रहेका नेपालीहरूले आफूहरूलाई स्वदेश फर्काउन सरकारसँग अनुरोध गरेका थिए । सोहीअनुसार सरकारले बिहीबार इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको थियो ।

बिहीबार इजरायलबाट २५३ नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको जहाज गएराति काठमाडौंमा अवतरण गरेको थियो ।

यसको अलवा अझै इजरायलमा २०० नेपाली उद्धारको पर्खाइमा रहेको दूतावासले जनाएको छ । उनीहरूलाई पनि छिट्टै नेपाल पठाउने तयारी गरिएको छ ।

इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरूलाई हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यमा तीब्रता दिन पुनः अनुरोध गरिएको समेत दूतावासले जनाएको छ ।

साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमहरूको सदुपयोग गरी उनको खोजी कार्यलाई अझै तीब्र पारिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖