• Thursday 8th of October 2026

कोशीबारे महामन्त्री शर्माको टिप्पणी– डिभोर्स गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर जाने होइन


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको ‘राजनीतिक डढेलो’ फैलन नदिन पार्टींभित्र गम्भीर समीक्षा आवश्यक भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्ञाल एक्समा लामो स्टाटस राख्दै महामन्त्री शर्माले अहिलेको गठबन्धन छाडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गर्नपर्ने बताउँदै उनले बोकिरहनुपर्ने नभएको उल्लेख गरेका छन् ।

‘संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न,’ शर्माले भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ‘पुस १०’ पनि नबिर्सौं ।’

साथै, महामन्त्री शर्माले कोशी प्रदेश ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भागमा भन्ने कुनैपनि सहमति नभएको पनि बताएका छन् ।

‘कोशी ढुक्कै कांग्रेसको भागमा,कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो-नराम्रो सबै ब्यहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ ।’

उनले गठबन्धन कि गर्नै नहुने कि यसका राम्रा तथा नराम्रा पक्ष पनि स्वीकार गर्नुपर्ने बताएका छन् । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति स्वीकार्नैपर्ने भन्दै उनले त्यसका लागि नेतृत्वले संवाद गर्नुपर्ने उनको भनाइ छ ।

“गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो–नराम्रो सबै बेहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ । सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो,” शर्माले भनेका छन्, “गणित नै त्यस्तो छ– एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।”

उनले कांग्रेसले गम्भीर आत्मसमीक्षा पनि गर्न जरुरी रहेको बताएका छन् । “व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र साझा मत खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न,” शर्माले भनेका छन्, “जमाना बदलिएको छ, अब तपाईंहरू बदलिनुस् । हामी बदलिन तयार छौँ । पार्टीको हित तपाईं हामी बदलिनुमा सुनिश्चित छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖