• Thursday 8th of October 2026

चलखेल रोकियो भनेको त फेरि एमाले छिराइहालेछन्: प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको बताएका छन् ।

आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको उनले बताए ।

‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो । हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्,’ सुदूरपश्चिम प्रदेशमा सोमबार समाजवादी मोर्चाको सन्देश सभामा प्रचण्डले भने, ‘आज फेरि त्यसलाई हामी करेक्सन गर्दैछौं, करेक्सन त हुन्छ। जित्नलाई यही गठबन्धनले जित्छ ।’

आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक(पटक चलखेल भए पनि परास्त गरिएको उनले दाबी गरेका थिए। ‘पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हेलाउन सक्दैन। चलखेल गर्नेहरू सफल हुँदैनन्,’ उनले भने ।

उनले कांग्रेस र एमालेभित्रको गतिविधिबारे पनि कुरा गरेका थिए ।

‘पहिलोचोटि एमालेभित्र ठूला चिरा परेको देखिएको छ । हामीले राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई सदुपयोग गर्ने सम्भावना बढेको छ,’ उनले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा हो बुझिसाध्य छैन । अस्तो कोशीमा देखिइहाल्नुभयो । कोशीमा दुई गठबन्धन बने । हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को, लाजमर्दो। यसलाई के गरी हल गर्ने भनेर म, देउवा र शेखर बसेर गठबन्धनमा दृढ छौं, कमजोर पार्न दिने छैनौं भनेर हस्ताक्षर गरियो । यति गरेपछि एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो ।’

कोशीमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार मन्त्रिपरिषद विस्तार गरेका थिए । कोशीमा आइतबार मुख्यमन्त्री केदार कार्कीले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्री बनाएका छन् ।

त्यसलाई करेक्सन गर्ने र ५ वर्ष यही गठबन्धन जाने उनको दाबी छ । ‘माधवजीले भनेको जस्तो ५ वर्ष यही गठबन्धन जान्छ ।’

‘जति पटक बल गर्छन्, त्यति उनीहरु आफैं नराम्रोसँग फसेका छन्’ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖