• Wednesday 7th of October 2026

जीप दुर्धटनामा मृत्यु भएका सबै एकै परिवारका


  • धनकुटा खबर
  • .

पाल्पाको रानीमहल नजिकै भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने ६ जना सबै एकै परिवारका भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।

मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका छन्।

दुर्घटनामा परी कृष्णबहादुरका आफन्त ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ।

कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्।

देवचुली नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशवराज गौतमका अनुसार उनीहरू शनिबार रानीमहल घुम्न भन्दै घरबाट गएका थिए।
‘उहाँहरू सबै मेरा छिमेकी हुनुहुन्छ। सबैलाई म चिन्छु,’ गौतमले भने।

उनका अनुसार कृष्णबहादुर लामो समयदेखि वैदेशिक रोजगारीमा थिए। केही समयअघि मात्रै उनी घर फर्केका थिए।
पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो।

जिप रूपन्देहीको भैरहवाबाट गएको अपुष्ट खबर भए पनि कहाँबाट गएको थियो भन्ने खुल्न सकेको छैन।
पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरूलाई लिएर फर्किँदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जिप बराङ्दी खोलाको खोंचमा झरेकाले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाइ भएको थियो।

सडकबाट झन्डै एक सय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। मृतकहरूको शव खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।

कतिपय मृतक गाडीले चेपिएको अवस्थामा रहेकोले प्रहरीलाई उद्धारमा समय लागेको थियो।

साँझ ५ बजेतिर भएको उक्त दुर्घटनाका मृतक तथा घाइतेलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।

दुर्घटनास्थल पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ भने रानीमहलबाट फर्किएको डेढ किलोमिटरको दुरीमै जिप दुर्घटनामा परेको थियो।-भागवती पाण्डे/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖