• Thursday 8th of October 2026

२० वर्षीय युवकको हत्यामा संलग्न भनिएका अर्का युवा पनि पक्राउ


  • धनकुटा खबर
  • .

सल्यानमा दुई युवाको कुटपिटबाट एक जना २० वर्षीय युवकको मृत्यु भएपछि त्यसमा संलग्न भनिएका अर्का युवा पनि पक्राउ परेका छन्।

जिल्लाको बागचौर नगरपालिका– ८ स्यालाका २५ वर्षीय केशर वलीलाई प्रहरीले बुधबार मध्यराति सल्यान र रूकुम जिल्लाको सीमानाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले सेतोपाटीलाई बताए। पक्राउ परेका केशरलाई इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ।
सोही कुटपिटमा संलग्नमध्ये स्यालाका २३ वर्षीय सन्तोष वलीलाई बुधबार दिउँसो दाङमा पक्राउ गरी सल्यान लगिएको छ ।

उनीहरूको कुटपिटबाट घाइते जिल्लाको बागचौर नगरपालिका– ७ कोटबाराका २० वर्षीय घनश्याम वलीको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको थियो।

घटना कार्तिक ४ गते दिउँसो ४ बजे तिरको हो।
डिएसपी कार्कीका अनुसार कात्तिक पाँच गतेमात्रै प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो ।

स्यालामा भलिबल खेल हेर्न गएका घनश्याममाथि अनाहकमा दुई युवाले मिलेर कुटपिट गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी कार्कीले बताएका छन्।

कुटपिटमा संलग्न भनिएका दुबै जना पक्राउ परेको भए पनि उनीहरूमाथि सोधपुछ हुन बाँकी रहेको कार्कीले बताए।

स्थानीयले भने कात्तिक ४ गते पुरानछाप गाउँमा स्थानीय विद्यालयमा युवा भलिबल खेलिरहेका थिए। जहाँ घनश्याम पनि थिए। भलिबल चलिरहेको समयमा केशर र सन्तोष मैदानमा प्रवेश गरे। त्यतिकैमा केशर र सन्तोषले घनश्यामलाई ‘दाइहरूलाई ढोग’ भन्न थाले। घनश्यामले उनीहरूलाई ढोग्न मानेनन्। त्यही निहुँमा घनश्याममाथि केशर र सन्तोषले निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन्।

कुटपिटबाट घाइते घनश्याम बेलुका घरमा पुगेपछि टाउको दुखेको भन्दै खाना नखाइ सुतेको उनको परिवारले बताएको छ।
घनश्यामले आफूमाथि कुटपिट भएको कुरा घरमा भनेनन्। कात्तिक ५ गते पनि घनश्यामले कुरा खोलेका थिएनन्।

त्यसदिन पनि खाना खान नसकेको परिवारको सदस्यले बताए। उनी बिरामी भएको ठानेर त्यसदिन घर परिवारले झारफुक गराएका थिए।
कात्तिक ६ गते बल्ल घनश्यामले आफूमाथि कुटपिट भएको र अस्पताल लैजान घर परिवारलाई आग्रह गरेका थिए। त्यसपछि मात्रै घर परिवारले प्रहरीलाई घटनाबारे सूचना दिएका थिए ।

घर परिवारले घनश्यामलाई बागचौरको जनप्रिय मेडिकलमा उपचारका लागि पुर्‍याएका थिए। चेकजाँच गराउँदा स्वास्थ्यकर्मीले घनश्यामको शरीरका विभिन्न भागमा कुटपिटबाट रगत जमेको भन्दै तत्काल अन्तत्र लगेर उपचार गर्न भनेका थिए। त्यसपछि उनलाई उपचारका लागि भारतको लखनउ पुयार्‍इएको थियो। उनको त्यहीँ उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖