• Thursday 8th of October 2026

ठेलामा चाउमिन बेच्ने महिलालाई वार्षिक ३६ हजार ५०० रुपैया कर


  • धनकुटा खबर
  • .

रञ्जना बिसी, धनगढी । सात वर्षदेखि धनगढीमा ठेलामा चाउमिन बेचेर गुजारा गर्दै आएकी डोटी बोगटान फुड्सिल गाँउपालिकाको सिमचौरकी कलसा बोहरा धनगढी उपमहानगरपालिकाले ठेलामा अचाक्ली कर लगाएपछि ठेलाबाट जीवनको गुजारा नहुने निष्कर्षमा पुगेकी छन् । तर अरु बिकल्प र उपाय नहुदा उनी तत्काल ठेला छोड्न सक्ने अवस्थामा भने छैनन ।

कलसाजस्तै ठेलामा चाँउमिन बेचेर गुजारा गरिरहेका सबै महिलाहरुको मनोदशा यतिबेला एउटै छ । धनगढी उपमहानगरपालिकाले ठेलामा चाउमिन बेच्नेहरुसंग वार्षिक ३६ हजार पाँच सय रुपैया कर लिन थालेपछि यो व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

कलसा जीवन धान्ने जोहोको खोजी गर्दै थाँतथलो छोडेर धनगढी झरेकी हुन् । धनगढी आएपछि उनले ठेलामा चाउमिन बेच्न थालिन । त्यतिबेला उनका श्रीमान पहाडमै अस्थायी शिक्षक थिए । अस्थायी जागीर गएपछि उनका श्रीमान केही समयपछि धनगढी झरे । र, अटो चलाउने थाले ।

उनी मासिक सात हजार रुपैया घर भाडा बुझाउछिन । सबै छोराछोरीलाई विद्यालयमा पढाईरहेकी छन् । जेठो छोरी १२ कक्षामा पढछिन । विद्यालयको बिदा हुदा जेठी छोरीले उनलाई ठेलामा सघाउछिन् । उनका लागि चाउमिन बेचेर घरभाडा, छोराछोरीको विद्यालयको शुल्क जुटाउनु त टाढाको कुरा त्यसले धनगढी उपमहानगरपालिकालाई कर तिर्ने रकम समेत जुट्दैन ।

कहिल्यै आम्दानी नै हुदैन । कहिले तीन सय रुपैया आम्दानी हुन्छ । कहिलेकाही मुस्किलले पाँच/सात सय आम्दानी हुन्छ, उनी भन्छिन्, आम्दानी भए पनि नभएपनि नगरपालिकालाई दैनिक सय रुपैया कर तिर्नै पर्छ । कर नतिरी त चाउमिन बेच्न पनि दिदैनन । पहिले कर तिर्नुपर्छ । अनि चाउमिन बेच्न पाउछु ।

उनी धनगढी उपमहानगपालिकालाई प्रतिदिन सयका दरले मासिक तीन हजार रुपैया र वार्षिक ३६ हजार पाँच सय रुपैया बुझाउदै आएकी छन् । पहिले वार्षिक नौ हजार रुपैया बुझाउथिन ।

उनको वार्षिक ३६ हजार बचत हुदैन । कभर्ड हल र परिवार नियोजन जाने बाटोमा ठेलामा चाउमिन बेच्ने महिलाहरुको कथाव्यथा समान छन् ।

चाउमिन बेचेर बचत गर्ने कुरा त टाढाको कुरा । उनीहरुले चाउमिन बेचेर सन्तानलाई पढाउने खर्च समेत जुटाउन सकेका छैनन । तर धनगढी उपमहानपालिकालाई भने सापटी खोजेर भएपनि कर तिर्दै आएको उनीहरु सुनाउछन् । उनीहरुको छाक टार्ने त्यही एउटा ठेला छ । कर नबुझाए त्यही पनि चलाउन पाउदैननन ।

कलसाले छोराछोरीको दुई लाख रुपैया विद्यालय शुल्क तिर्न नसकेको सुनाईन । भन्छिन्, आम्दानी नै नभएपछि छोराछोरीको विद्यालय शुल्क कहाँबाट बुझाउनु ?

कलसासंगै परिवार नियोजन जाने बाटोमा ठेलामा चाउमिन बेच्दै आएकी डोटी बोगटान फुड्सिल गाँउपालिकाको सिमचौरकै अर्की महिलाको गुनासो पनि उस्तै छ । कर अचाक्ली भयो । अव त चाउमिन बेचेर गुजारा गर्न सकिने अवस्था नै रहेन । भन्छिन्, बिहान पहिले सय रुपैया कर तिर्नुपर्छ । अनि चाउमिन बनाउन पाउछौ । उनले गुनासो गरिन, कर नतिरे ठेला उठाई दिने धम्की दिन्छन ।

त्यही लाईनमा निरमा खातीको पनि चाउमिनको ठेला छ । उनले चाउमिन बेच्न थालेको आठ महिना भयो । उनका श्रीमान पनि संगै काम गर्छन् । पहिले उनी चाउमिनसंगै पकौडा र मःम पनि बनाउथिन । अहिले व्यापारमा मन्दी आएपछि मःम बनाउन छोडिन । मःम बेच्न छोड्नुको कारण खोल्दै उनले भनिन, लागत बढ्यो, व्यापार घट्यो । त्यसमाथि कर अचाक्ली भयो । त्यसैले चाउमिनमा सिमित भए । अव यो पनि कहिले बन्द हुन्छ । थाह छैन ।

चाउमिन बेचेर छोरालाई पढाउन सक्ने अवस्था नरहेको उनले सुनाईन । आम्दानी नै नभएपछि छोराको विद्यालय शुल्क तिर्न सकेको छैन, कर कसरी तिर्नु ?

त्यही लाईनमा चाउमिन बेच्ने अर्की एक महिलाले आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै भनिन, व्यापार छैन । दैनिक कर तिर्न सक्ने अवस्था छैन ।

उनका श्रीमान विदेशमा छन् । परिवारमा छ जना सदस्य छन् । ठेलामा चाउमिन बेचेर परिवार पाल्न सक्ने अवस्था छैन । श्रीमानले पठाएको पैसाले परिवारको खर्च चलेको छ । उनले भने, मैले कमाएको पैसाले त उपमहानगरपालिकालाई कर तिर्न पुग्दैन । कहिलेकाही सापटी लिएर कर तिर्छु ।

चाउमिनमा ठेला बेच्दै आएकी एकल महिलाले भने अरु बिकल्प केही नभएको अवस्थामा ठेलामा चाउमिन बेचेर छोरालाई पढाईरहेको बताईन । उनको भाईको ठेला पनि संगैछ । उनलाई हिसावकिताव आउदैन । भन्छिन्, भाईले नै हिसाव हेर्छन ।

एक वर्षअघि परिवार नियोजन र कभर्ड जाने बाटोमा एक सय १५ भन्दा बढि चाउमिनका ठेला थिए । एकातिर आर्थिक मन्दीले आम्दानी घट्यो । अर्कोतिर धनगढी उपमहानगरपालिका अचाक्ली कर लगायो । एक महिलाले भनिन, आम्दानीभन्दा कर बढि भएपछि २०/२५ जनाले चाउमिन बेच्न छोडिदिए । अरु पनि छोड्ने मनस्थितिमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖