• Thursday 8th of October 2026

धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटी तिरेर रिहा


  • धनकुटा खबर
  • .

रुपन्देही । दशैंअघि आफैले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि दाङ प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला १५ दिनपछि ७० हजार धरौटीमा रिहा भएका छन्।

सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा उनी इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका थिए ।

कात्तिक २ गते राति पौने १० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिंङ्गेनजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याइएको थियो।

तर, चौधरीको मृत्यु भएको स्वास्थ्यकर्मीले घोषणा गरेका थिए। घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी हिरासतमा बस्दै आएका थिए।

बाँस्तोलालाई जिल्ला अदालत दाङले ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको प्रहरी स्रोतले जनाएको छ।
बाँस्तोलालाई शुक्रबार अदालतमा पेश गरिएको थियो। न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बाँस्तोलालाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖