• Monday 5th of October 2026

नलगाड अस्पतालका डा.उप्रेती भन्छन्ः ब्ल्याङ्केट, स्ट्रेचर र टेन्ट चाहियो


  • धनकुटा खबर
  • .

जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पतालमा कार्यरत डा.विशाल उप्रेतीले तत्काल राहत सामग्री चाहिएको बताएका छन्। भूकम्पका कारण घाइते भएकाहरुको उपचारमा खटिइरहेका डा.उप्रेतीले अस्पतालमा उपचाररत घाइतेका लागि ब्ल्याङ्केट, स्ट्रेचर र टेन्टको आवश्यकता रहेको बताए।

नागरिक न्युजसँगको कुराकानीमा उनले भने, ‘रातिदेखि नै उपचारमा एक्लै खटिरहेको थिए। दिउँसो मात्रै थप २/३ जना डाक्टरहरु आइपुग्नुभयो। हालसम्म २ सय जनाको उपचार गरेर पठाइसकेका छौं। अझै ३० जना घाइते उपचाररत छन्। १० जना गम्भीर घाइतेलाई रेफर गर्यौं।’

६ नम्बर वडामा अस्पताल भएका कारण अन्य वडामा के कस्तो अवस्था छ भन्ने पनि जानकारी लिन नसकेको भन्दै उनले भूकम्पका कारण ठाउँठाउँमा पहिरो गएकोले समस्या भइरहेको बताए।

अस्पताल ल्याइएका मध्ये ४९ जनाको मृत्यु भएको भन्दै उनले यस्तो भयावह अवस्था फेरि हेर्न नपरोस् उनको भनाइ छ।

रातिदेखि एक्लै बिरामीको उपचार गर्नुपर्दा निकै समस्या भइरहेको थियो। तर, पछि थप चिकित्सकहरु आएपछि राहत भएको उनले सुनाए।

‘बेलाबेलामा भूकम्पका परकम्पहरु गइरहेका छन्। अस्पतालमा घाइते र बिरामीको अवस्था सामान्य भएपनि तनाव छ। जाडोको मौसम भएकाले तत्काल स्वास्थ्य सामग्रीसहितका राहत सामग्री उपलब्ध भइदिए सहज हुन्छ।’ उनले थपे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖