• Friday 9th of October 2026

इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास


  • धनकुटा खबर
  • .

काठमाडौ । हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको र कञ्चनपुरका विपिन जोशी बेपत्ता भएको एक महिना भएको छ । तर, जोशीको अवस्था अझै अज्ञात छ । उनको खोजीमा सरकारले कूटनीतिक प्रयास गरे पनि सफलता मिलेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायलमा रहेकै वेला ७ अक्टोबरमा आक्रमणको सिकार भएका थिए । हमासको हमालमा ज्यान गुमाएका १० विद्यार्थीको शव स्वदेश ल्याएर अन्तिम संस्कार भइसकेको छ ।

हमास समूह २० असोजमा इजरायल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० विद्यार्थीको निधन भएको थियो भने चारजना घाइते भएका थिए । स्वदेश फर्केका विद्यार्थीले जोशीलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएर गएको प्रतिक्रिया दिएका छन् । तर, उनको अपहरणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएका छैनन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल भन्छिन् ‘इजरायलमा शवहरूको डिएनए परीक्षण हुँदा उनीसँग मेल नखाएको हुनाले विपिन जोशी जीवितै छन् भन्ने आकलनका आधारमा खोजीका लागि हरसम्भव प्रयास गरिरहेका छौँ ।’

उनका साथीहरूको बयानका आधारमा सरकारले जोशी हमासको नियन्त्रणमा हुन सक्ने आकलनसहित मध्यपूर्वी मुलुकहरूमार्फत उनको मुक्तिका लागि कूटनीतिक प्रयास थालेको छ । मृतकका सबै शवको डिएनए परीक्षण हुँदा विपिनको नभेटिनुले उनी जीवितै रहेको इजरायलस्थित नेपाली दूतावासको विश्वास छ ।

‘बेपत्ता अवस्थामा रहेका विपिन जोशीको खोजीका लागि हरसम्भव प्रयास गरेका छौँ । अहिलेसम्म यकिन हुन सकेको छैन,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले टेलिफोनमा भनिन्, ‘मृतकका सबै शवको डिएनए परीक्षण हुँदा विपिन जोशीको नभेटिनुले उनी जीवितै छन् भन्नेमा हामी छौँ । तर, उनलाई हमास समूहले अपहरण नै गरेको भनेर आधिकारिक रूपमा पुष्टि नै गर्ने अवस्था छैन ।’

इजरायलका राष्ट्रपतिसँग शिष्टाचार भेटमा जोशीको खोजीका लागि सहयोग गर्न अनुरोध गरेको पनि राजदूत रिजालले बताइन् । नेपाल भमणका वेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदसँग गत साता अमेरिकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले जोशीको अज्ञात अवस्थाबारे चिन्ता जनाएका थिए । उनीहरूले जोशीको सकुशल मुक्तिका लागि आह्वान गरेका थिए ।

इजरायलले जोशी हमासको अपहरणमा परेको भन्ने परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको विषय यही साता सार्वजनिक भएको थियो । तर, यसबारे नेपाली दूतावास जानकार नरहेको उनले बताइन् । ‘मैले पनि पत्रपत्रिकामा पढेको हुँ । आधिकारिक रूपमा हामीलाई थाहा छैन,’ उनले भनिन् ।
परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए ।

मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गरिसकेको छ । आजको नसां पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖