मुम्बई । दिग्गज अभिनेता नाना पाटेकरको निधनपछि बलिउड स्तब्ध छ र धेरैले उनको महिमा गाउँदै शोक व्यक्त गरिरहेका छन् । तर अभिनेत्री तनुश्री दत्ताले भने फरक प्रतिक्रिया दिएर चर्चामा आएकी छन् ।
तनुश्रीले पाटेकरमाथि मृत्यूपछि पनि कडा शब्द प्रयोग गरेर चर्चामा आएकी हुन् । उनले पाटेकरको निधनलाई ‘सैतानी मृत्यु’ को संज्ञा दिएकी छन् ।
इन्स्टाग्राम स्टोरीमा भिडियो सेयर गर्दै तनुश्रीले भनेकी छन्, ‘मैले खबर सुनेको छु । तर आज मेरो कामको दिन हो । म लखनऊको ठूलो इभेन्टमा जाँदैछु र त्यसमा फोकस हुन चाहन्छु । यो सब हुनका लागि कस्तो अजीब दिन हो ?’
उनी थप्छिन्, ‘अब चिन्ता छ कि साँझ मिडियाको ध्यान इभिल डेड (सैतानी मृत्यु) मा मात्र जानेछ । म आफ्नो प्रतिक्रिया कस्तो दिने भन्ने बुझिसकेपछि दिनेछु । परिवारलाई निश्चित रूपमा समवेदना छ ।’
लखनउ इभेन्टमा पुगेपछि उनले थप प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘मेरो लागि त यो इभिल डेड नै हो । ‘मि टू’ पछिका पाँच वर्ष म कति समस्यामा परेँ । पीडितको दृष्टिकोणबाट हेर्नुहोस् । केस चलिरहेका बेला मलाई फिर्ता लिन दबाब दिइयो, प्रलोभन दिइयो, तर मैले फिर्ता लिइनँ । मेरो कारको ब्रेक काटियो, दुर्घटना भयो, फूड प्वाइजनिङ भयो । जो बित्यो ऊ बित्यो ।’
के थियो पुरानो विवाद ?
नाना र तनुश्रीबीचको विवाद सन् २०१८ मा सतहमा आएको थियो । तनुश्रील आफूमाथि नानाले विगतमा यौनशोषण गरेको सनसनीपूर्ण आरोप लगाएकी थिइन् ।
उनीहरुको विवाद २००८ को फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा भएको हो । तनुश्रीका अनुसार मार्च २००८ मा गोरगाउँको फिल्मिस्तान स्टुडियोमा एउटा गीतको सुटिङका क्रममा नानाले उनीमाथि यौन दुर्व्यवहार गरेका थिए । उनीहरूले एउटा सोलो गीतमा नाच्नुपर्ने थियो । सामान्य डान्समा नानाले इन्टिमेट स्टेप थप्न जोड दिएका थिए र सुटिङका क्रममा संवेदनशील अंगमा हात पुर्याएका थिए ।
उनले कोरियोग्राफर गणेश आचार्य, निर्देशक रकेश सारंग र निर्माता समेतको नाम लिएर उजुरीसमेत दिएकी थिइन् । २००८ मा नै तनुश्रीले सिने एण्ड टिभी आर्टिस्ट एसोसिएसनमा उजुरी दिए पनि मुद्दा अगाडि बढेन ।
त्यसको एक दशकपछि सेप्टेम्बर-अक्टोबर २०१८ मा मिटु अभियानका बीच उनले यो विषयमा खुलेर बोलेपछि बल्ल उक्त घटनाले राष्ट्रिय चर्चा पायो । उनले ओशिवारा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिन् ।
नाना पाटेकरले सुरुदेखि नै आरोपहरू अस्वीकार गर्दै आएका थिए । सेटमा धेरै मानिसहरू उपस्थित हुने भएकाले त्यस्तो घटना सम्भव नै नहुने उनको दावी थियो । सन् २०१९ मा मुम्बई प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै ‘बी-समरी’ रिपोर्ट बुझाएर मुद्दा बन्द गरेको थियो । गवाहीहरूले तनुश्रीको दाबीलाई समर्थन नगरेको प्रहरीले जनाएको थियो ।
तनुश्रीले यसविरुद्ध विरोध याचिका दिएकी थिइन् । मार्च २०२५ मा मुम्बईको एन्धेरी मजिस्ट्रेट अदालतले मुद्दा खारेज गर्यो । अदालतले २००८ को घटनामाथि २०१८ मा एफआइआर दर्ता गर्दा समयसीमा नाघिसकेको र ढिलाइको उचित कारण नदिइएको ठहर गर्यो ।
यसरी कानुनी रूपमा मुद्दा अन्त्य भयो तर विवाद सामाजिक रूपमा जीवित रह्यो । नाना पाटेकरको निधनपछि तनुश्रीको प्रतिक्रियाले फेरि एकपटक बलिउडको शक्ति संरचना, मिटु आन्दोलनको प्रभाव र पीडितको दृष्टिकोणबारे बहस सुरु गरेको छ ।
को हुन् तनुश्री दत्ता ?
तनुश्री दत्ता बलिउडमा मध्यम स्तरकी अभिनेत्री हुन् । २००४ मा मिस इन्डिया युनिभर्समा टप १० मा परेर उनी पहिलोपटक चर्चामा आएकी थिइन् ।
२००५ मा ‘आशिक बनाया आपने’ बाट इमरान हासमीसँग डेब्यू गरेपछि केही समय चर्चा पाइन् । त्यो फिल्म र यसको गीतले उनलाई बोल्ड छवि दियो । त्यसपछि उनले ‘भागम भाग’, ‘ढोल’, ‘रिस्क’, ‘गुड ब्वाय ब्याड ब्वाय’ जस्ता फिल्महरूमा काम गरिन् । केही फिल्म हिट र केही फ्लप भए ।
फिल्म करियर को हिसाबले उनी अहिले सक्रिय छैनन् । तर २०१८ को मिटु आन्दोलनमा नाना पाटेकरमाथि लगाएको आरोपका कारण उनी निकै हाइलाइट भएकी थिइन् । उनलाई उनीलाई भारतमा मिटु अभियानकी प्रमुख आवाजका रूपमा चिन्ने गरिन्छ ।
