• Sunday 4th of October 2026

फेसबुकको नाम फेर्न एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने


  • धनकुटा खबर
  • .

सोसल मिडिया प्लाटर्फम एक्सका मालिक एलन मस्क आफ्ना अभिव्यक्ति तथा क्रियाकलापहरुका कारण बारम्बार चर्चामा आइरहन्छन् ।

गतवर्ष ट्वीटर (हाल एक्स) खरिद गरेयता उनी धेरै नै सक्रिय भएका छन् । ट्वीटरको नाम परिवर्तन गरी एक्स बनाएका एलन मस्कले प्रतिस्पर्धी सोसल मिडिया प्लाटर्फम फेसबुकको नाम फेर्नका लागि त्यसका संस्थापक मार्क जुकरबर्गसँग महँगो प्रस्ताव गरेका छन्।

मस्कले फेसबुकको मातृ कम्पनी मेटाका सीईओ जुकरबर्गलाई एक अर्ब डलरको अफर दिएका छन् । यसका लागि उनले केवल एउटा शर्त राखेका छन्, त्यो हो फेसबुकको नाम बदल्ने ।

वास्तवमा यो घटनाको सुरुआत प्यारोडी वेबसाइटमा प्रकाशित समाचार पश्चात् भएको हो । The Babylon Bee ले यस विषयमा एउटा पोस्ट लेखेका थिए ।

उक्त पोस्टमा लेखिएको थियो कि एलन मस्कले मेटाका सीईओ मार्क जुकरबर्गलाई फेसबुकको नाम बदल्नका लागि एक अर्ब डलर अफर गरेका छन् ।

उक्त पोस्टको समाचारमा प्यारोडी न्यूज पोर्टलले एलन मस्कलाई ट्याग गरेको थियो । अनि त के चाहियो ? मस्कले त्यस पोस्टमा जवाफ दिइहाले । उनले फेसबुकको नाम परिवर्तन गरी Faceboob बनाउनु उपयुक्त हुने बताए ।

तथापि मस्कको यस्तो हल्का टिप्पणीप्रति जुकरबर्गले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यद्यपि मस्क र जुकरबर्गबीचको दोहोरी नयाँ भने होइन । यसअघि मस्कले जुकरबर्गसँग कुस्ती खेल्ने प्रस्ताव राखेका थिए र जुकरबर्गले चुनौती स्वीकार पनि गरेका थिए । यी दुई टाइकुन बीचको कुस्ती इटालीमा हुने तय भैसकेको भए पनि मिति भने टुंगिएको छैन ।

स्मरण रहोस् एलन मस्कले विकिपेडियालाई समेत नाम परिवर्तन गर्न सुझाव दिइसकेका छन् । उनले विकिपेडियाको नाम परिवर्तन गरी कम्तिमा एक वर्षका लागि डिकिपेडिया राख्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖