काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित विद्यार्थीहरूलाई राहत सहयोग गर्ने उद्देश्यले अनेरास्ववियूले देउसी/भैलो शुरु गरेको छ ।
भूकम्पका कारण विद्यार्थीको शैक्षिक सामग्री नष्ट भएको र चिसोको मौसममा उनीहरूलाई न्यानो कपडाको आवश्यकता परेको महसुस गर्दै अनेरास्ववियूले बालबालिका र विद्यार्थीका त्यस्ता आवश्यकता पुरा गर्न देउसी आयोजना गरेको अध्यक्ष आरती लामाले बताइन् ।
विद्यार्थी संगठन भएको नाताले विद्यार्थीलाई परेको समस्या अनेरास्ववियूको समस्या भएको उल्लेख गर्दै लामाले आफ्नो पार्टी निकट नेता, कार्यकर्ता एवं व्यवसायीसँग मिलेर देउसी खेलिएको र त्यस बापत उठेको पैसा भूकम्प प्रभावित विद्यार्थीलाई हस्तान्तरण गरिने जानकारी दिइन ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल निवास डल्लुबाट प्रारम्भ भएको देउसी कार्तिक २५ र २६ गते गरी दुई दिनसम्म चल्नेछ ।
अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको देउसीमा संगठनका उपत्यकामा उपलब्ध नेता, कार्यकर्ताको उपस्थिति रहेको छ ।
देउसीबाट उठेको रकम लिएर संगठनको टोली जाजरकोट जाने अनेरास्ववियूको तयारी छ । अनेरास्ववियूले जाजरकोट पुगेर प्रभावित विद्यार्थीका समस्या समाधानमा केन्द्रित हुने र भूकम्पका कारण भत्किएका विद्यालयहरूको पुनः निर्माणमा जुट्ने तयारी गरेको केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले जानकारी दिए ।
