• Friday 9th of October 2026

कुवेत गएकी आशा जब छोरी च्यापेर ह्विल चियरमा फर्किइन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् ।

पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमार्फत स्वदेश फर्काइएको चितवन सेवा समाज कुवेतका संस्थापक अध्यक्ष नाबिन लोप्चनले जानकारी दिए ।

गैरकानुी हैसियतमा रहेकी उनी करिब ३२ महिनादेखि अस्पतालमा उपचाररत थिइन् । टाउकोमा गम्भीर समस्या देखिएपछि उनको अप्रेसन गरिएको थियो । उपचारकै क्रममा उनले छोरी जन्माएकी थिइन् । उनी अझैसम्म बोल्न सक्दिनन् ।सन् २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिले अस्पतालमा पहिलोपटक उनीसँग भेट गरेको थियो । त्यसपछि नेपाली दूतावास कुवेतले उनको उद्धार गर्न निक्कै प्रयास गरेको थियो । नेपाली दूतावासले पनि उनको उद्धारमा सक्रियता देखाएको थियो ।

एनआरएनएको फलोअप र पछिल्लोपटक चितवन सेवा समाजको पहलमा आमा छोरीकै उद्धार गरी नेपाल पठाउन सफल भएको समाजका संरक्षक लोप्चनले बताए । दूतावासका कर्मचारी सिरज महम्मदले बिरामीको उद्धारका लागि सक्रियतापूर्वक समन्वय गरेका थिए ।

उनलाई नेपालसम्म पु-याउन राजु गोले तामाङलाई पनि साथमा पठाइएको समाजले जनाएको छ । उनलाई नेपालमा अमृत सार संगठनको संरक्षणमा राखिने बताइएको छ ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू अधिकांश साधारण लेखपढ नभएका छन् । सामान्य अंग्रेजी भाषा बोल्न त परै जाओस् । आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान’bout पनि जानकारी नहुने हुँदा उनीहरूको उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत हुने गरेको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖