• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मंसिर ७ गते काठमाडौंमा प्रहरी र सशस्त्र फिल्डमा, सेना ब्याकअपमा


  • धनकुटा खबर
  • .

काठमाडौं : काठमाडौंमा यही मंसिर ७ गते चार वटै सुरक्षा निकाय परिचालन गरिने भएको छ। नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्दैछन्। जिल्ला सुरक्षा समितिको छलफलले मंसिर ७ गते प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा तथा नेपाली सेनालाई ब्याकअपमा राख्ने निर्णय गरेको छ। साथै राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन हुनेछ।

‘प्रहरी अग्रभागमा बसेर काम गर्छ। सशस्त्र प्रहरी पनि फिल्डमा खटिन्छ। राष्ट्रिय अनुसन्धानको आफ्नै तरिकाले काम गर्छ। नेपाली सेनालाई ब्याकअप फोर्सको रूपमा तयारी अवस्थामा राख्ने कुरा भएको छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले भने।

युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो। उक्त छलफलपछि युवा संघले कार्यक्रम तीनकुनेमा गर्ने बताएको छ। प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ। प्रशासन कार्यालयले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

‘उपत्यकाका तीन वटा जिल्ला सुरक्षा समितिले योजनाहरू बनाएर सूचना संयन्त्र बनाइएको छ। सुरक्षा निकायबीचमा सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ त्यसका लागि ‘भ्याली जोइन्ट अपरेशन कमान्ड सेन्टर’ तयार गरिएको हो,’ एआइजी थापाले भने। पछिल्लो समय युवा संघ इन्चार्जसमेत रहेका महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप प्रत्यारोप भइरहेको छ। झडप हुन सक्ने आकलन गर्दै प्रशासनले दुई पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने बताएको हो।

‘झडप हुन नदिन, क्षति कम गर्नको लागि र व्यवस्थित तरिकाले कार्यक्रम सम्पन्न गर्न तीनवटै जिल्ला सुरक्षा समितिले सुरक्षा खतरा मूल्यांकन गरी अगाडि बढिरहेका छौं। कार्यक्रम सकेपछि पनि दुईपक्ष नजुध्ने गरी व्यवस्थापन गर्ने पक्षमा छौं,’ एआइजी थापाले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖