काठमाडौँ । राजधानीमा एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका छन् । फेसबुक लाइभमा आएर ती व्यक्तिले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् ।
करिब साढे ६ मिनेट लाइभमा आएको उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन् ।
दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यमाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए मोरङ अटो वर्कशपले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन् ।
‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्यो । मोरङ अटो वर्क शपले मलाई टर्चर दियो….’, उनले लाइभमा भनेका छन् । उनले दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेपनि समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्धार गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनलाई ताहाचलबाट जिवित उद्धार गरिएको बताइएको छ ।
