काठमाडौँ । पूर्वभारतीय कप्तान महेन्द्र सिंह धोनीले आईपीएलको आगामी सिजनमा पनि चेन्नई सुपर किंग्सको कप्तानी गर्ने भएका छन् । त्यस्तै हार्दिक पाण्ड्याले गुजरात टाइटन्सको नेतृत्व गर्नेछन्।
आईपीएलका फ्रेन्चाइजीहरूले सन् २०२४ का लागि रिटेन र रिलिज भएका खेलाडीको सूची सार्वजनिक गरेका छन् । आइतबार रिटेन र रिलिज विन्डोको अन्तिम मिति थियो।
यस सिजनमा २ वटा ठूला कारोबार भएका छन् । तीमध्ये रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले शाहबाज अहमदको स्थानमा राजस्थान रोयल्स (आरआर) मा मयंक डागरलाई स्थान दिएको छ भने लखनऊ सुपरजायन्ट्सले आवेश खानको स्थानमा राजस्थान रोयल्सका देवदत्त पडिक्कललाई समावेश गरेको छ। बेन स्टोक्स र जो रुटले यो सिजन खेल्न अस्वीकार गरेका छन् ।
यस सिजनका लागि शार्दुल ठाकुर र जो रुट जस्ता खेलाडीलाई रिलिज गरिएको छ, जसको अर्थ उनीहरु सबै डिसेम्बर १९ मा हुने लिलामीमा प्रवेश गर्नुपर्नेछ ।कोलकाता नाइट राइडर्सले सबैभन्दा बढी १२ खेलाडी र पञ्जाब किंग्सले सबैभन्दा कम ५ खेलाडी रिलिज गरेको छ ।
फ्रेन्चाइजीको खातामा १०० करोड
यस मिनी लिलामीका लागि टोलीको पर्स ५ करोड भारु बढाएर १०० करोड रुपैयाँ पुर्याएको छ । यसको मतलब गत वर्षसम्म टोलीले ९५ करोड रुपैयाँसम्मका खेलाडीलाई आफ्नो टोलीमा राख्न सक्थे भने अब १०० करोड रुपैयाँसम्मका खेलाडी राख्न सक्नेछन् ।
आगामी लिलामीमा खेलाडी किन्न सक्ने क्षमता रिटेन्सन विन्डोद्वारा निर्णय गरिनेछ। यदि कुनै टोलीले १० करोड रुपैयाँको खेलाडी रिलिज गर्छ भने उसले लिलामीमा १५ करोड रुपैयाँ (१० करोड+५ करोड अतिरिक्त) पाउनेछ ।
कुन टोलीले कसलाई रिलिज गर्यो ?
डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले बेन स्टोक्स, अम्बाती रायडु, डेभोन प्रिटोरियस, काइल जेमिसन र सिसान्डा मगला जस्ता खेलाडीलाई रिलिज गरेको छ ।
राजस्थान रोयल्सको टोलीले अर्को सिजनका लागि जो रुट, जेसन होल्डर र ओभेड म्याकोयलाई रिलिज गरेको छ भने कप्तान सञ्जु सैमसन, शिमोरन हेटमायर र यशस्वी जैसवाल जस्ता खेलाडीलाई राखिएको छ।
कोलकाताले आफ्ना १२ खेलाडी रिलिज गरेको छ जसमा ६ विदेशी र ६ भारतीय खेलाडीको नाम छ । कोलकाताले शाकिब अल हसन, लिटन दास, डेभिस भिसा, लोकी फर्गुसन, जोन्सन चार्ल्स र टिम साउथी जस्ता विदेशी खेलाडीलाई रिलिज गरेको छ । फ्रेन्चाइजीले रिलिज गर्ने भारतीय खेलाडीमा आर्य देसाई, नारायण जगदीसन, मनदीप सिंह, कुलवंत खेजरोलिया, शार्दुल ठाकुर, उमेश यादव रहेका छन् ।
पञ्जाब किंग्सले राजनगड बाबा र शाहरुख खानलाई रिलिज गरेका छन् । रिलिज भएका खेलाडीमा भानुका राजपाक्षे पनि परेका छन् । फ्रेन्चाइजले ५ खेलाडी मात्रै रिलिज गरेको छ ।
लखनउ सुपर जायन्ट्सले ८ खेलाडीलाई रिलिज गरेको छ । यसमा जयदेव उनाडकट र करण शर्मा जस्ता ठूला नाम छन् । उनाडकटको लखनउसँग २०२३ को सिजन राम्रो रहन सकेन, उनले ३ खेल खेल्ने मौका पाए जसमा उनले कुनै सफलता पाउन सकेनन्।
मुम्बई इन्डियन्सले कुल ११ खेलाडी रिलिज गरेको छ । जसमा इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चरसहित ६ विदेशी खेलाडी रहेका छन् । आर्चरले चोटका कारण गत सिजन एक खेल पनि खेल्न सकेनन् ।
दिल्ली क्यापिटल्सले टोलीबाट कुल ११ खेलाडी रिलिज गरेको छ । टिमबाट राइले रुसो, सरफराज खान र रोभम्यान पावेल जस्ता ठूला नाम रिलिज भएका छन् । सर्फराज खान घरेलु क्रिकेटका शीर्ष खेलाडीमध्ये एक हुन् । गत सिजन सरफराजले ४ खेल खेल्ने मौका पाएका थिए जसमा उनले जम्मा ५३ रन मात्र बनाउन सकेका थिए ।
गुजरातका कप्तान हार्दिक पाण्ड्या टोलीमा नै रहनेछन् । हालै उनी मुम्बई इन्डियन्समा आबद्ध हुने हल्ला चलेको थियो । गुजरातले फास्ट बलर शिवम मावीलाई टिमबाट रिलिज गरेको छ । २०२२ सिजनमा ६ खेलमा ५ विकेट लिने मावीलाई गुजरात टाइटन्सले २०२३ को आईपीएलमा एक खेल खेल्ने पनि मौका दिएको थिएन। गत सिजन उनलाई ६ करोड भारुमा टोलीले समावेश गरेको थियो । अर्कोतर्फ, रिंकु सिंहविरुद्ध ५ बलमा ५ छक्का खर्च गर्ने बलर यश दयाललाई पनि टोलीले रिलिज गरेको छ ।
सनराइजर्स हैदरावादले इंग्ल्याण्डका अलराउन्डर ह्यारी ब्रुकलाई रिलिज गरेको छ । टोलीले ह्यारी ब्रुकलाई २०२३ सिजनमा १३.२५ करोडमा समावेश गरेको थियो। ब्रुकले आफ्नो पहिलो सिजनमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्। उनले ११ खेलमा २१.२१ को औसतमा १९० रन मात्र बनाएका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोरले फास्ट बलर हर्षल पटेललाई रिलिज गरेको छ । हर्षल २०१२ देखि २०१७ सम्म आरसीबीको हिस्सा थिए। २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहेपछि, उनी सिजन २०२१ मा बैंग्लोरमा फर्किए र १५ खेलमा ३२ विकेट लिए । हर्षलले त्यो सिजनपछि टिम इन्डियाका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यू पनि गरेका थिए । त्यसपछि टोलीमा हर्षलको प्रदर्शन लगातार घट्दै गयो । २०२२ सिजनमा १५ खेलमा १९ विकेट लिएका थिए भने २०२३ मा १३ खेलमा १४ विकेट लिए ।
