• Sunday 4th of October 2026

एनसेलको ८० प्रतिशत सेयर कारोबार मूल्य ४० करोड डलर :स्पेक्ट्रलाइट


  • धनकुटा खबर
  • .

काठमाडौँ । बेलायती कम्पनी स्पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत सेयरको मूल्य ४० करोड अमेरिकी डलर भएको बताएको छ । एनसेलले पत्रपत्रिकामा विज्ञापनमार्फत दिएको विज्ञप्तिमा स्पेक्ट्रलाइटका मुख्य लगानीकर्ता सतिशलाल आचार्यले सेयर किनबेचको मूल्य ४० करोड डलर भएको बताएका हुन् ।

एनसेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो ।’ र अन्य प्रतिस्पर्धीलाई पन्छाएर स्पेक्ट्रलाइट छानिएको आचार्यको भनाई छ । आचार्यका अनुसार सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो ।

‘सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ,’ आचार्यले विज्ञप्तिमार्फत खुलाएका छन्, ‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ ।’

जुन, कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्ने बताइएको छ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहतर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्‍याउने समेत बताइएको छ ।

यसअघि आजियाटाले जारी गरेको विज्ञप्तिमा ६अर्ब ६५ करोड रुपैयाँ बेसप्राइसमा एनसेलको ८० प्रतिशत सेयर किनबेच गर्ने उल्लेख गरिएको थियो । आचार्यले भने बेस प्राइसबाहेक सन् २०२९ सम्ममा एनसेलको आम्दानीको निश्चित लाभांश आजियाटाले पाइराख्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖