• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धनगढी पुगेर प्रधानमन्त्री प्रचण्डले भने-मलाई बडो नमिठो लाग्यो


  • धनकुटा खबर
  • .

धनगढी । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान धनगढी विमान स्थलबाट ओर्लने बित्तिकै सरासर थारु गाउँ भादा हुइँकिए ।

उनी धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आएको प्रचार गरियो । तर उनी त्योभन्दा अगाडि नै धनगढी बजार छिचोल्दै १७ किलोमिटरको दुरी तय गर्दै धनगढी उपमहानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा पुगे ।

बुझ्दै जाँदा उनी आफ्नो पार्टीगत कार्यक्षेत्र धनगढी उपमहानगरपालिका १६ पुगेका हुन् । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माअ‍ोवादी विशेष रुपान्तरण अभियान अन्तरगत उनी आफ्नो कार्यक्षेत्र यहाँ बनाएका हुन्।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले कार्यक्रम स्थल पुग्दै गर्दा आफूलाई नमिठो अनुभूति भएको सुनाए ।

‘म धनगढीबाट आउँदै गर्दा बाटो जस्तै देखेँ । मलाई बडो नमिठो लाग्यो । पिच जस्तो पनि छ । ग्राभेल जस्तो पनि छ । बिच–बिचमा ठूलठूला रुख पनि छन् । बाटो सीधा जान सकेको पनि छैन । वनको समस्या जटिल समस्या रहेको मैले प्रत्यक्ष भोगे’, उनले भने, ‘त्यहाँबाट यहाँ आउँदा दुईटा पुल, एउटा निर्माण भइसकेको पुल र एउटा बन्दै गरेको पुल मैले आफ्नै आँखाले प्रत्यक्ष देख । बन्दै गरेको पुल टेण्डर भएर पनि वर्षौसम्म बन्न नसकेको पाए । अहिले पनि बजेट थोरै परेर बन्न नसकेको पुलसँग सम्बन्धित अधिकारीहरुले बताइसक्नु भएको छ । तपाईँको वडामा मैले आउनुको अर्थ मैले केही न केही गर्नै पर्छ । पुलमा बजेटको कमी हुने दिने छैन र निर्माण कम्पनीलाई त्यही अनुसार निर्देशन पनि हुनेछ ।’

त्यस्तै, प्रचण्डले पार्टीको अभियान अन्तरगत आफ्नो यो वडा छैठौं वडा रहेको खुलाए । यो वडा क्रान्ति कालको महत्त्वपूर्ण वडा रहेको चर्चा गर्दै उनले आफूहरुले सेल्टर लिएको वडा रहेको समेत चर्चा गरे ।

प्रचण्डले भने, ‘पार्टीको तीन महिने अभियान सबैतिर जारी छ । पार्टीको अध्यक्षले ७ प्रदेशको ७ वडामा कार्यक्षेत्र लिने निर्णय निर्णय भयो । त्यसै अनुसार हालसम्म मैले ५ प्रदेशको ५ वडामा गइसकेको छु । कर्णाली, लुम्बिनी, मधेस, बाग्मती, गण्डकी प्रदेशमा गइसकेको छु । यो छैठौ वडा चाहिँ सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका १६ हो । अब कोसी प्रदेशको एउटा वडामा बाँकी छ ।’

पहिलो पटक यहाँ आएका प्रम प्रचण्डलाई स्थानीयले धनगढी उपमहानगरपालिकाको वडा नंं १५, १६ र १७ को समस्या तथा मागलाई लिएर १७ बुँदे ज्ञापनपत्र बुझाए ।

के–के छन् मागहरु ?

-बेलीदेखि चौमाला कृषि सडक कालो पत्रे गर्नुपर्ने

-देवहरिया जोखरतालदेखि बेहडा बाबा मन्दिरसम्म सडक कालोपत्रे गर्नुपर्ने

-उर्मा स्वास्थ्य चौकी घसिटालाई १५ शैयाको अस्पताल बनाउनुपर्ने

-बेहडा बाबा नमुना माविलाई बहुमुखी क्याम्पस बनाउनुपर्ने

-बेहडा बाबा धार्मिक पर्यटकीय क्षेत्रलाई विश्व समुदायमा चिनाउन स्तरोन्नति गर्नुपर्ने

-थारू होमस्टे गाँउ भादालाई थप स्तरोउन्नती गर्नुपर्ने

-रामपुरदेखि भादा कुलो नियन्त्रण सुखही खोलामा तट्बन्धन

-भुमिहिन र अव्यवस्थित बसोमासीको सम्स्यालाई यथासिघ्र समाधान गर्दै राजस्व घटाई पुर्जा वितरण गर्नुपर्ने

-धनगढी उप–महानगरपालिकाको वडा नं. १७ देखि वडा नं. १५ को खुटिया पुलदेखि दक्षिणसम्म पर्ने खुटिया र शिवगंगा नदीमा तट्बन्धन गर्नुपर्ने ।

-धनगढी उप–महानगरपालिका वडा नं. १६ देखि कैलाली कैलारी गाउँपालिका वडा नं. ९ सामरचौरा जोड्ने पक्की पुल यथासक्के चाँडो निर्माण गर्नुपर्ने ।

-धनगढी उप–महानगरपालिका वडा नं. १६ मा रहेको ओझा टोलदेखि रामपुर जोड्ने पक्की पुल निर्माण गर्नुपर्ने ।

-गुरूवान टोलदेखि ओझाटोल जोड्ने सुखही खोलामा पक्की पुल

-वडा नं. १६ मा रहेको श्री बेहडा बाबा माविको ५०० मिटर पश्चिममा रहेको खेलमैदानलाई वडा नं. १६ कै खेलमैदानको रूपमा स्तरोन्नति गर्नुपर्ने

-फूलवारीदेखि कनरी उर्मा भादा घुरही हुँदै चौमाला चनौरा हुने रिङ्गरोडलाई चाँडो भन्दा चाँडो सुरूवात गर्नु पर्ने ।

-वडा नं. १६ मा रहेको १४ किलोमिटर रोडलाई कालोपत्रे गर्नुपर्ने

-घुरहा च्युरीबारीदेखि दक्षिण घुरहीसम्म तटबन्धन

-१५, १६ र १७ लाई कृषि पकेट क्षेत्र बनाउने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖