काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।
खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।
अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।
नेपालबाट कति बेला अवलोकन गर्ने ?
नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।
वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा २० डिसेम्बरसम्म हुनेछ । तर यो उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।
नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ ।
