यहमेश फ्याशन हाउसको वारेस हुन् निकोलास प्युएस । आफ्ना पूर्व मालीलाई धर्मपुत्र बनाएर ११ अर्ब डलरको सम्पत्ति उसैलाई दिने घोषणा गरेर हालै मात्रै निकोलासले सबैलाई अचम्मित बनाइदिएका छन् । ८१ वर्षका प्युएस अविवाहित हुन् । उनका कोही सन्तान छैनन् । यिनी स्वीट्जरल्यान्डको सबैभन्दा धनीमध्येमा पर्छन् ।
यिनको नेटवर्थ १० अर्ब ३० करोड डलरदेखि ११ अर्ब ४० करोड डलरबीच भएको अनुमान गरिएको छ । सन् २०१४ मा फ्रान्सेली फेसन हाउस एलभीएमएचले यहमेशको ठूलो हिस्सा किनेको भएपनि २ खर्ब २० अर्ब डलरको सो कम्पनीमा प्युएसको राम्रै हिस्सा छ । सारा सम्पत्ति पूर्व मालीलाई दिने उनको घोषणा विवादमा तानिएको थियो । मालीको नाम खुलाइएको छैन । उनी मोरक्कन भएको बताइएको छ । स्पेनकी एक महिलासँग बिहे गरेका मालीका २ सन्तान छन् ।
प्युएसले ५१ वर्षका ती मालीलाई धर्मपुत्र बनाउने प्रक्रिया सुरु गरेको भन्दै स्वीटजरल्यान्डको एउटा पत्रिकाले हालै मात्र खबर छापेको थियो । स्वीटजरल्यान्डमा वयस्कलाई धर्मपुत्र बनाएको घटना निकै दुर्लभ छन् । नबालिकलाई भन्दा वयस्कलाई धर्मपुत्र बनाउन गाह्रो छ त्यहाँ । प्युएसले यस अघि आफ्नो सम्पत्ति इसोक्रेट्स फाउन्डेशनलाई दिने वाचा गरेका थिए । मालीले प्युएसको सबै सम्पत्ति पाए भने लाभांशको रुपमा मात्रै उनले वर्षेनी ४ करोड युरो पाउनेछन् ।
