• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उद्धार नगरे आत्महत्या गर्छु भनेकी नेपाली चेली कुवेतबाट फर्किइन्


  • धनकुटा खबर
  • .

कुवेतमा श्रीलंकाकी महिला एजेन्टबाट बन्धक बनाइएकी नेपाली चेली गंगा गिरीको उद्धार भएको छ । उद्धारपछि उनी बुधबार राति कुवेतबाट नेपाल आइपुगेकी छन् ।

करिब सात महिनाअघि गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी गिरीलाई श्रीलंकाकी महिला एजेन्टले एक महिनादेखि बन्धक बनाएको तथ्य प्रकाशित गरेको थियो । त्यसपछि उनको उद्धारको पहल सुरु भएको थियो ।

त्यसो त उद्धारअघि नातामा ज्वाइँ पर्ने ओमप्रकाश श्रेष्ठलाई आफ्नो समस्या सुनाएपछि श्रेष्ठले उद्धारका लागि पहल गरेका थिए । श्रेष्ठसँगको सम्पर्कमा एजेन्टले साता, १० दिनमा उद्धार गरेर नेपाल फर्काउँछु भने पनि त्यसपछि सम्पर्कविहीन भएका थिए । त्यसपछि राजधानीले उनको एजेन्ट रामबहादुर नेगीलाई सम्पर्कमा ल्याएर आवश्यक कागजात उपलब्ध गराउन लगाई नेपाल फर्काएको हो । त्यसो त उनलाई स्वदेश फर्काउन कुवेतमा रहेका समाजसेवी घनश्याम थापा मगरले त्यहाँ रहेकी श्रीलंकाकी एजेन्टसँग पनि समन्वय गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै उनले राजधानीसँगको कुराकानीमा नेपाल फर्किन पाएकोमा खुसी व्यक्त गरिन् । ‘उतै मर्छु भन्ने सोचेकी थिएँ, नेपाल आइपुगी सक्दा पनि सपना हो कि विपना छुट्याउन सककी छैन, सबैको साथ सहयोगले स्वदेश आउन सकेकी छु, सहयोग गर्ने सबैलाई धन्यवाद,’ उनले भनिन् ।

‘मलाई आफूलाई नेपाल फर्किन्न होला जस्तो लागेको थियो, आज हजुरहरूको सहयोगले नेपाल आइपुगें,’ उनले भनिन्, ‘कुवेतमा एजेन्टले दिएको यातना सम्झिएर मन भक्कानिन्छ तर नेपाल आइपुगेकोमा हर्षको आँसु झरेको छ ।’ उनलाई नेपालमा रहेको अमृतसार संस्थाले एक दिन काउन्सिलिङमा राख्ने र घरसम्म पुग्ने टिकट व्यवस्था गरेर पठाउने सस्थाका प्रतिनिधि सुमित्रा बस्नेतले बताइन् ।

आफन्त नाता पर्ने एजेन्ट नेगीमार्फत कुवेत पुगेकी उनी एक महिनादेखि गम्भीर बिरामी परेकी थिइन् । ६ महिना जति कुवेती नागरिकको घरमा काम गरेपछि बिरामी परेकी उनले आफूलाई नेपाल फर्काउन एजेन्ट नेगीलाई गुहारेकी थिइन् । तर, एजेन्ट नेगी नै सम्पर्कविहीन भएपछि उनी श्रीलंकाकी महिला एजेन्टबाट बन्धक बनाइएकी थिइन् । एजेन्टले आफूले ४ लाखमा किनेको र त्यो पैसा नदिएसम्म नपठाउने भन्दै बन्धक बनाएको उनले त्यतिबेला राजधानीसँग बताएकी थिइन् ।

उनले बिरामी परेपछि आफूलाई एक महिनासम्म एउटा अँध्यारो कोठाभित्रै थुनेर राखेको र नेपाल फर्किन्छु भन्ने आस नै मारिसकेको बताइन् ।

कुवेतमा आफूले पाएको यातना गंगाले आफन्तलाई फेसबुक म्यासेन्जरमार्फत जानकारी गराएकी थिइन् । र, आफूलाई तत्काल निकाल्न गुहार मागेकी थिइन् । आफूलाई उद्धार नगरे आत्महत्या गर्नेसमेत उनले बताएकी थिइन् ।

उनले त्यसबेला भनेकी थिइन्, ‘मेरो घरमा नानी पनि बिरामी छ, मलाई यहाँबाट छिटो ननिकाले पासो लगाएर आत्महत्या गर्नुबाहेक अरू कुनै विकल्प छैन । मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, बरु म नेपाल आएर खेतबारी बेचेर भए पनि पैसा तिर्छु, यहाँ मलाई शारीरिक तथा मानसिक यातना पनि दिइएको छ, मसँग अरू पनि साथीहरू छन्, उनीहरूलाई पनि एजेन्टले कुट्ने गरेको छ ।’

एजेन्ट भनिएका नेगीले अहिलेसम्म सयौं नेपाली चेलीलाई गैरकानुनी बाटो हुँदै कुवेत पु¥याउने गरेको पीडितले बताउने गरेका छन् ।

उता, विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा पुगेर समस्यामा परेका १ हजारभन्दा बढी केस आफू कहाँ आएको बताए । ‘हामी कुवेतीको घरघरमा पुगेर उद्धार गर्न सक्दैनौं, त्यो अधिकार न त हामीसँग न त यहाँ रहेको नेपाली दूतावाससँगै छ, घरमा गएर उद्धार गर्दा उल्टो हामी आफंै फस्छौं, यस्ता केस धेरै छन् ।’

उनले उनीहरू भागेर दूतावाससम्म पुगे भने ट्राभल डकुमेन्ट बनाउन मद्दत गर्न सकिने उनले बताए । पछिल्लो समय कुवेतीले खदमाको फोन ट्र्याक गरेर कोंग बोल्छ उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले उद्धार गर्न थप समस्या हुने गरेको अध्यक्ष सुवेदी बताउँछन् । दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थान पनि जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖