धनगढी । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागरे मारिएका अछामका वीरेन्द्र शाहको अन्तिम संस्कार गरिएको छ । अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्रको आज बुढीगङ्गा नदी किनारमा अन्तिम सस्कार गरिएको हो ।
गत शुक्रवार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षार्थीहरू र प्रहरीबिचको झडपका क्रममा मारिएका उनको आज बुढीगङ्गा नदी किनारमा अन्तिम संस्कार गरिएको छ । मङ्गलवार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत उनको शव अछाम ल्याइएको थियो ।
आज दिउँसो उनको घर चौरपाटी गाउँपालिका–१ सिउँडीबाट सुरु भएको शव यात्रामा गाउँपालिका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरू सहभागी थिए । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबिच चार बुँदे सहमतिपछि शव बुझिएको थियो ।
शुक्रवार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरूले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो ।
