अमेरिकामा गैरकानुनी काम गरेका एक नेपालीलाई यहाँको अदालतले दोषी ठहर्याएको छ । अमेरिकामा ठगी गरेर नेपाल आएका पंकज जोशीलाई विशेष अदालतले दोषी ठहर गरेको हो । सम्पत्ति शुद्धीकरण विभागका तर्फबाट हालेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले हिजो फैसला गरेको थियो । सजाय निर्धारणका लागि भने पुस २५ गते अर्को पेसी तोकिएको छ । त्यसदिन अदालतले जोशीको कैद सजाय र जरिवाना निर्धारण गर्नेछ ।
यस्तो थियो घटना
घटना आजभन्दा करिब १४ वर्षअघि अर्थात् सन् २००९ को हो । त्यसबेला जोशी अमेरिकामा थिए । उनी ग्राण्ड कन्भेनिन्स नामक एक स्टोरमा काम गर्थे । एकदिन ६७ बर्षीय वृद्धले उक्त स्टोरमा आएर महंगो चिठ्ठाको एउटा टिकट किने । र, स्टोरमै काम गरिरहेका जोशीलाई चिठ्ठा परे नपरेको जानकारी गराइदिन आग्रह गरेर निस्किए ।
संयोगवश १० लाख अमेरिकी डलर बराबरको उक्त चिठ्ठा ती ६७ वर्षिय वृद्धालाई नै पर्यो । तर, तत्काल यो कुरा जोशीले ती वृद्धलाई जानकारी दिएनन् । बरु उल्टै २ डलर मात्रै परेको भन्दै टिकट साटेर वृद्धलाई झुक्काए । र, चिठ्ठा परेको टिकट सुटुक्क आफ्नो गोजीमा राखे ।
त्यही दिन हतार हतार चिठ्ठाको रकम दिने कार्यालय अस्टिन पुगेर १० लाख डलर साटिहाले । पैसा हात पारेपछि उनी भागे । त्यसको केही दिनपछि उक्त स्टोरको सिसिटिभीको फुटेजमा जोशीले ६७ वर्षीय वृद्धलाई झुक्काएर उनको टिकट आफ्नो खल्तीमा पारेको स्पष्ट देखियो । त्यसपछि सुरु भयो उनको खोजी ।
जोशीले १० लाख डलर साट्दा कर काटेर ७ लाख डलरमात्रै हात पारेका थिए । जसमध्ये केही रकम उनले अमेरिकामै आफ्नो फरक-फरक बैंकमा रहेका खातामा जम्मा गरेका थिए । केही रकम बैंक अफ काठमाडौँबाट नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।
अमेरिकी प्रहरीले अनुसन्धान गर्दै जाँदा एउटा बैंकमा रहेको ३ लाख ६५ हजार डलर फेला पारेर जफत गर्यो । तर, जोशी भने भेटिएका थिएनन् । उनी नभेटिएपछि काठमाडौँस्थित अमेरिकी दूतावासले जोशीका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र राष्ट्र बैँकलाई लिखित पत्राचार गर्यो ।
त्यसपछि खोजी तीब्र बनाएको प्रहरीले अन्ततः डिल्लीबजारस्थित उनको घरसम्म पुगेर पक्राउ गर्न सफल भयो । प्रहरी अनुसन्धानले सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐनको दफा ३० को व्यवस्था उल्लंघन गरेको निष्कर्ष निकालेपछि २०७७ चैत १३ गते जोशीविरुद्ध अदालतमा मुद्दा दायर गरियो ।
सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको सो मुद्दामा हिजो विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको हो । विभागले १० लाख डलर बराबरको नेपाली रुपैयाँ र त्यसमा थपिएको ब्याजसमेत जोड्दै २ करोड ८ लाख ८३ हजार २४२ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरेको छ ।
