काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।
प्रचण्डविरुद्ध सात वर्षअघि अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाको टिप्पणी गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका थिए ।
उक्त मुद्दामा आज (शुक्रबार) सर्वोच्च अदालतले फैसला सुनाउँदै ‘माग दाबी नपुग्ने’ ठहर गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले रिट निवेदकको मागदाबी बमोजिम अदालतको अवहेलना गरेको नदेखिएको ठहर गरेको हो ।
