रेबेका थर्न/ बीबीसी । चलिआएका प्रेमकथाको सुरुवात दुई अपरिचित व्यक्तिले टेस्ट ट्युबमा थुकेर सुरु हुँदैन । तर चेइको मिट्सुईका लागि लामो समयदेखि उनले खोजिरहेको उत्तर थुकको नमुनामा नै भेटियो । उनले आफ्नोलाई सही व्यक्ति भेटिन् र उसलाई नै आफ्नो पति बनाउन तयार भइन् ।
डीएनएबाट एकल व्यक्तिलाई जीवनसाथी खोजिदिने कुरा नेटफ्लीक्सको द वन र एएमसी टिभी च्यानलको सोलमेट्समा केन्द्रीय विषय हो । तर यो कुरा लेखकको मस्तिष्कमा आएको भविष्यको कुरा भने होइन । किनभने डीएनए मिलाएर जोडी खोल्ने चलन चलिसकेको छ ।
चेईको जस्ता एकल व्यक्तिलाई रसायनयुक्त प्रेमी खोजिदिने र जोडी बनिसकेकाहरूका लागि दाम्पत्य जीवनको सम्भावना बारे बुझ्ने मौका भन्दै केही वेबसाइटहरूले डीएनए परीक्षणको विज्ञापन गरेका छन् । बीबीसीले डीएनएमार्फत् प्रेमी खोजेका केही व्यक्तिहरूसँग माया पिरतीको कुरामा विज्ञानको स्थान छ कि छैन भनेर बुझ्ने प्रयास गरेको छ ।
‘जीवन परिवर्तन भयो’
पारपाचुके गरेपछि लगभग १० वर्षदेखि प्रेमको खोजीमा रहेकी ४५ वर्षीया जापानी चेइको भाग्यमै नभएको सोचिरहेकी थिइन् । “साथीमार्फत केही मानिसहरू त भेटेकी थिएँ र विवाह गराइदिने एजेन्सीमा पनि नाम लेखाएकी थिएँ तर मैले सही व्यक्ति भेटेको थिइनँ,” उनले भनिन् ।
त्यसपछि उनले चेइको डेट भन्ने संस्थाका बारेमा सुनिन् जसले २० वर्षमा ७०० जोडी बनाएको दाबी गरिरहेको थियो । सन् २०१४ मा उनी स्वीट्जरल्यान्डस्थित जीनपार्टनर संस्थाको सम्पर्कमा पुगिन् । जीनपार्टनरले जीनको परीक्षणले जोडी मिलाउन सहयोग गर्न सक्ने दाबी गर्छ ।
“दुवै पक्ष मिल्नु जरुरी छ: पहिलो जैविक कुरो जसलाई हामी मन मिलेको भन्छौँ,” जीनपार्टनरका एक संस्थापक डा. तमारा ब्राउन भन्छिन् । “अर्को पक्ष भनेको सामाजिक हो । कुनै पनि सम्बन्ध सफल हुन यी दुवै पक्ष मिल्नुपर्छ ।”
डीएनएको नतिजाका लागि थुकको नमुना लिइन्छ र त्यसमा ह्युमन ल्यूकोसाइट एन्टिजन एचएलए विश्लेषण गरिन्छ । “एचएलए मानिसको रोग प्रतिरोधी क्षमताका लागि महत्त्वपूर्ण जीन हो,” डा. ब्राउन भन्छिन् । “जति धेरै भयो उति नै मानिसको रोगसँग लड्ने क्षमता हुन्छ ।”
“स्तनधारी प्राणीका भाले र पोथीले यो जीनलाई चिन्छन् किनभने उनीहरू रोगसँग लड्ने बढी क्षमता भएका बच्चा जन्माउन चाहन्छन् । यो साधारण सिद्धान्त हो तर यो काम गरेन भने प्रजाति लोप हुन्छ ।”
जीनपार्टनरको दाबी सन् १९९५ मा डा. क्लाउस वेडकाइन्डले गरेको ‘पसिनायुक्त टीसर्ट अध्ययन’को आधारमा बनेको हो । उनले महिलाहरूको एक समूहलाई दुई रात फरक-फरक पुरुषले लगाएका लुगाको गन्धलाई मन परेको आधारमा अङ्क दिन भने ।
नतिजामा महिलाले आफूभन्दा फरक एचएलए जीन भएका पुरुषप्रति आकर्षित हुने देखायो । डा. ब्राउनले यो सिद्धान्त करिब २५० विवाहित जोडीमा परीक्षण गर्दा उस्तै नतिजा आएको बताउँछिन् । चेइको मिट्सुई डीएनए परीक्षणले पति छान्दा मनमा शान्ति हुने अपेक्षा गरेको बताउँछिन् ।
सन् २०१८ को सेप्टेम्बरमा उनको जोडीका रूपमा उनको जस्तै रुचि र सोच भएका ४५ वर्षीय पुरुषलाई प्रस्ताव गरियो । एक महिनाको भेटघाटपछि उनीहरूले डीएनए परीक्षण गरे । “नतिजा शतप्रतिशत थिएन तर मैले सोचेभन्दा राम्रो थियो त्यसैले म खुसी भएँ,” मिट्सुई भन्छिन् ।
दुई सातापछि उनीहरूले विवाह गर्ने निर्णय गरे र सन् २०१९ को सेप्टेम्बरमा विवाह गरे । मिट्सुई डीएनएको नतिजाको कारण आफूले सुरक्षित महसुस गरेको बताउँछिन् । “डीएनए बिना मैले उनलाई विवाह गर्थेँ वा गर्दिन थिएँ भन्न सक्दिनँ । त्यसैले यो परीक्षणले जीवन परिवर्तन गर्यो ।”
ब्राजिलको साओ पाउलो विश्वविद्यालयका आनुवंशिक विज्ञ डा. डिओगो मेयरले अहिले पनि विज्ञानले अन्तिम निर्णय नदिइसकेको बताए । उनले डीएनएबाट जोडी मिलाउने कुरा विवादित भएको भन्दै फरक एचएलए भएकै आधारमा जोडी मिल्न सक्ने प्रमाण दिन नसकिने बताए ।
उनले उक्त सिद्धान्त प्रयोग गर्नु ‘गाई कि त्रिशुल गरेर निर्णय लिनुभन्दा खासै फरक नरहेको’ टिप्पणी गरेका छन् । तर नाम परिवर्तन गरिएकी एमी आफूले दाउ लगाएको भन्दै त्यसले फाइदा दिने अपेक्षा गर्छिन् ।
इसाई धर्म मान्ने ३२ वर्षकी उनी पनि जापानी हुन र उनले डीएनए विधिमार्फत बाँकी जीवन बिताउन मिल्ने व्यक्ति फेला पार्ने अपेक्षा गरेकी छन् । चिइको डेटको डीएनए सेवामा अघिल्लो साल जोडिएपछि उनी दुई जना पुरुषसँग डेट गइन् । यो विधिले काम गरिरहेको उनलाई लाग्छ ।
“जब मैले ती दुई जना भेटेँ मलाई उनीहरू एकदमै राम्रा, शिक्षित र सज्जन लाग्यो । उनीहरू राम्रा मान्छे भएको मैले महसुस गरेको भए पनि मलाई केही अपूर्ण जस्तो लाग्यो । थाहा छैन किन । त्यो अनुभव के थियो म व्याख्या गर्न सक्दिन ।”
“जब मैले चिइकोसँग कुरा गरेँ र हामीले डीएनए परीक्षण हेर्यौँ । दुवै जना मित्रता गाँस्ने तहमा रहेछन् । त्यही भएर मैले उनीहरूसँग हुँदा मैले सहज महसुस गरे पनि त्यहाँ थप केही थिएन । उक्त परिणाम मेरो लागि रोचक थियो ।”
मित्रताको आकर्षण वा यौन आकर्षण डा. ब्राउनको टोलीले प्रदान गर्ने विश्लेषणको एउटा हिस्सा हो । चिइको डेटले आफ्नो डीएनए सेवा लिने अधिकांश राम्रो शिक्षा हासिल गरेका र उच्च तहमा रोजगारीमा भएका व्यक्ति छन् ।
‘हाम्रो सम्बन्ध तोड्न सक्थ्यो’
क्विन्सल्यान्ड अस्ट्रेलियाकी मेलिसाले आफ्नो प्रेमीसँग अप्ठेरो समयबाट गुज्रिरहेको अवस्थामा डीएनए परीक्षण गराउने निर्णय लिएको बताइन् । उनीहरूले डीएनए रोमान्स नामक वेबसाइटको प्रयोग गरेका थिए। विगतमा आफूले धेरै केटा साथीसँग प्रेमसम्बन्ध राखेको भन्दै उनले आफूले धेरै समय खेर फालेको बताइन् ।
सन् २०१७ मा उनले आफ्ना प्रेमी मेजलाई टीन्डरमा भेटिन् जो पहिलो डेटका लागि उनी भएको शहरसम्म आए । पहिलो भेट एकदम विशेष भए पनि डेटिङको पहिलो वर्ष उतारचढाव बिनाको नभएपछि उक्त जोडीले केही समय सम्बन्ध तोड्यो । फेरि जोडिएपछि उनले मेजलाई आनुवंशिक जाँचका लागि मनाइन् ।
परीक्षणले डीएनए रोमान्स विश्लेषण विधिबाट ९८ प्रतिशत जोडा मिल्ने निष्कर्ष देखायो । “म एकदमै खुसी भएँ । त्यो जान्न पाउनु थप पुष्टि गर्नु जस्तै थियो । त्यो मेरा लागि हाम्रो सम्बन्ध सही भएको अर्को सानो प्रमाण थियो ।”
तर जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर द साइन्स अफ ह्युमन हिस्ट्रीका अनुवंशका वैज्ञानिक रोड्रिगो बारक्वेरा एचएलए जीनले जोडा मिलाउन सहयोग गर्ने प्रमाण भए पनि त्यो कतिको सफल सम्बन्ध हुने भन्ने प्रमाण नभएको बताए ।
“जीनहरू प्रजनन तथा सन्तान उत्पादन बारे सही हुन्छ । अरू कुरा ध्यान दिँदैनन् । तर मानव सम्बन्ध धेरै जटिल रहेको छ ।” तर मेलिसाले आनुवंशिक मेलले आफ्नो जोडीलाई विश्वास दिलाएको बताउँछिन् । उनीहरूले विवाह गरेका छन् र पहिलो सन्तानको प्रतीक्षा गरिरहेका छन् ।
“मलाई लाग्छ यो रोचक मात्रै नभई वैज्ञानिक पनि छ । कतिले यसलाई पागलपन भन्लान् तर मेरो लागि यो एकदमै विश्वसनीय छ ।” तर डा. मेयर जीनलाई डेटिङ वा जोडी खोज्ने सेवा दिन प्रयोग गर्ने थालिनुले विज्ञानलाई कसरी बिक्री गरिँदैछ वा बुझिँदैछ भन्ने झल्को दिने बताउँछन् ।
“मलाई लाग्छ विज्ञानको अवधारणा बुँदागत तथ्य प्रस्तुत गर्ने भन्ने हो । किनभने योसँग तथ्याङ्कको परीक्षण गर्ने क्षमता छ र योसँग डीएनए र अति सूक्ष्म कणहरूको परीक्षण गर्ने सामर्थ्य छ । मानिसहरूले यसलाई सत्यको नजिक र अरू भन्दा बढी विश्वसनीय ठान्छन् ।” “त्यही भएर विज्ञानको जे क्षमता छ त्यसलाई बढाइचढाइ गरेर बिक्री गरिएको छ ।”
