• Sunday 4th of October 2026

साढे दुईतले घर बनाउन कति चाहिन्छ गिटी-बालुवा, कति हुन्छ खर्च?


  • धनकुटा खबर
  • .

घर निर्माणमा गिटी-बालुवा अत्यावश्यक मानिन्छ। गिटी-बालुवा नभइ आरसिसी (पक्की) घर निर्माण गर्न सकिँदैन।

तपाईंहरूमध्ये धेरैलाई घर बनाउँदा कति गिटी-बालुवा चाहिन्छ र त्यसमा खर्च कति लाग्छ भन्ने जिज्ञासा होला।

यहाँ हामीले निर्माण व्यवसायीहरूको सहयोगमा साढे दुईतले घरमा लाग्ने गिटी-बालुवाको मात्रा र खर्चबारे जानकारी दिएका छौं।

पछिल्लो समय संरचना निर्माणको काम सुस्त छ। त्यसैले निर्माण सामग्रीको माग घट्दो छ, मूल्य धेरै हेरफेर भएको छैन। गिटी-बालुवाको भाउ पनि लामो समयदेखि स्थिरजस्तै छ।

गिटी-बालुवाको खर्चबारे जान्नुअघि यसबारे थोरै जानकारी लिऔं। घर बनाउँदा गिटी र बालुवा एकै साथ प्रयोग हुन्छ।

गिटी कालो र सेतो गरी दुई प्रकारका हुन्छन्। सामान्यतया बलियो मानिने भएकाले इञ्जिनियरहरूले कालो गिटी प्रयोग गर्न सुझाउँछन्। सेतो गिटी भने खास प्रयोग हुँदैन भन्दा पनि हुन्छ।

बालुवा पनि डबल-वास, खानी (खानीबाट निकालिएको) र खोला (खोलाबाट निकालिएको) गरी तीन प्रकारको पाइन्छ। गिटी पेल्दा निक्लेका टुक्रा ग्रेडिङ (पिसेर) गरेर निकालिएको बालुवालाई डबल-वास भनिन्छ। त्यस्तै खोलाबाट सिधै निकालेर फिल्टर गरेको बालुवालाई पनि डबल-वास नै भनिन्छ।

खोलामा पनि दुई किसिमका बालुवा पाइन्छ। त्यो बालुवा गारो लगाउन र प्लास्टर गर्न दुवैमा प्रयोग हुन्छ। खस्रो बालुवा गारो लगाउन प्रयोग हुन्छ भने मसिनो प्लास्टर गर्न प्रयोग गरिन्छ।

काठमाडौंका निर्माण क्षेत्रमा धादिङको माधवबेसी, आग्रा खोला, गजुरी, सिन्धुपाल्चोकको मेलम्ची खोला, भकुन्डेबेसी, बैरेनी लगायत ठाउँबाट गिटी-बालुवा आउने गरेको छ। सिन्धुपाल्चोकको तुलनामा धादिङबाट आयात हुने गिटी-बालुवा गुणस्तरीय मानिने वितरकहरू बताउँछन्।
उपत्यकाका निर्माण क्षेत्रमा खोलाको बालुवा पनि प्रयोगमा आउँछ। व्यापारीहरूका अनुसार यस प्रकारको बालुवा मेलम्ची तथा त्रिशुलीबाट आउने गरेको छ।

प्रतीक्षा सप्लायर्स, पेप्सिकोलाका प्रोप्राइटर पूर्ण तिमल्सिनाका अनुसार टिपरको आकारअनुसार गिटी-बालुवाको मूल्य निर्धारण गरिएको छ।
बालुवा एक ठूलो टिपरमा ल्याउँदा २६ हजार रूपैयाँ र कालो गिटी ३२ हजार रूपैयाँ पर्छ।

त्यस्तै मिनी ट्रकमा ल्याउँदा बालुवा ९ हजार रूपैयाँ र गिटीको ११ हजार रूपैयाँ पर्छ।

‘यो एक वर्षदेखि चलेको मूल्य हो। गिटी-बालुवाको माग नहुँदा मूल्य बढ्न सकेको छैन। एक वर्षदेखि स्थिर जस्तै छ,’ तिमल्सिनाले भने।
साढे दुईतले घर बनाउँदा गिटी-बालुवामा कति पैसा छुट्ट्याउन पर्ला?
यहाँ हामीले आठ वर्षदेखि घर निर्माण गर्दै आएको जिरो डाय नेपालका सह-संस्थापक आर्किटेक्ट इञ्जिनियर सत्येन्द्र भट्टराईको सहयोगमा साढे दुईतले घर बनाउँदा छडमा लाग्ने खर्चको विवरण निकालेका छौं।

यो नौ सय वर्गफिट क्षेत्रफलमा बन्ने घरको लागत अनुमान हो।
‘काठमाडौंमा सामान्यतया घर बनाउन नजिकैको डिपोबाट मिनी ट्रकमै गिटी-बालुवा ल्याउँदा राम्रो हुन्छ। बाटो सानो हुँदा पनि सहज हुन्छ,’ उनले भने, ‘ठूला संरचनाका लागि मात्र ठूलो टिपरबाट ओसार्दा ठीक हुन्छ।’

भट्टराईका अनुसार साढे दुईतले घरमा एक सय १० मिनी ट्रक बालुवा र गिटी लाग्छ। यसमा ७० बालुवा र ४० ट्रक गिटी प्रयोग हुन्छ। गिटी-बालुवा अधिकांश हात्तीपाइला, पिलर, स्ल्याब र गारोमा प्रयोग हुन्छ। यति गिटी-बालुवा भयो भने जगदेखि कम्पाउन्ड समेतलाई पुग्ने उनले बताए।

यो परिमाणको गिटी-बालुवामा अहिलेको भाउअनुसार झन्डै ११ लाख रूपैयाँ खर्च अनुमान गर्नुपर्ने देखिन्छ।

यो खर्च अनुमान घर बनाउने स्थान र डिपोको दुरीअनुसार थोरै घटबढ हुनसक्छ।
-सुनिता सिटौला/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖